राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘ई-लर्निङ प्लेटफर्म’ तयार गर्ने भएको छ। यो प्लेटफर्ममार्फत विपतका विषयबारे आधारभूत जानकारी लिन सकिनेछ।
ई-लर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैंगिक समानता तथा समावेशीकरणसम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ। विपत् व्यवस्थापनसम्बन्धी पाठ्यक्रमभित्र चारवटा सत्र राखिएका छन्। लैंगिक समानतासम्बन्धी पाठ्यक्रमभित्र तीनवटा सत्र राखिएका छन्। प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए। विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाका लागि यो प्लेटफर्म उपयोगी हुने उनको भनाइ छ।
ई-लर्निङ प्लेटफर्मको बुधबार प्राधिकरणका कर्मचारीबीच पहिलो परीक्षण कक्षा भएको छ। इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रूपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको अपेक्षा छ।