बन्चरेडाँडामा तनावकाे अवस्था, प्रहरी–स्थानीय आमने–सामने

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण
बन्चरेडाँडामा तनावकाे अवस्था, प्रहरी–स्थानीय आमने–सामने

फाइल तस्बिर

आफ्ना माग सम्बोधन नभई फोहोर फाल्न नदिने अडानमा रहेका बन्चरेडाँडाका स्थानीयले आज पनि अवरोध गरेका छन् । 

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रभावित स्थानीय सडकमा भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । यस्तै, वृद्धवृद्धा तथा महिलाहरूसमेत डाँडा–डाँडामा भेला भएका छन् ।

बन्चरेडाँडा क्षेत्रमै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका चार दर्जनभन्दा बढी प्रहरी परिचालित छन् । स्थानीयले माइकिङ गर्दै जबर्जस्ती नगर्न प्रहरी र गाडीचालकहरूलाई चेतावनी दिएका छन् । 

उनीहरूले माइकिङबाटै प्रहरीले लगाएको झुटाे मुद्दा खारेज गर्न, प्रहरी दमन रोक्न र स्थानीयका माग सम्बोधन गर्न आग्रह गरेका छन् । 

आफ्ना माग पूरा नगरी प्रशासन दमनमा उत्रिए मुठभेडको अवस्था उत्पन्न हुने र त्यसको जिम्मेवार राज्य हुनुपर्ने उनीहरूको चेतावनी छ । 

स्थानीय विरोधमा उत्रिएपछि काठमाडौंबाट फोहाेर लिएर गएका कुनै पनि टिपरले फोहोर फाल्न सकेका छैनन् । आज बिहानैदेखि स्थानीय विरोधमा उत्रिएपछि फोहोर लिएर गएका गाडी ककनी गाउँपालिकाको कागतीगाउँमा रोकिएका छन् । 

सुझावित समाचार