भदौमा चौथो पूर्वाधार सम्मेलन

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघले २३ र २४ भदौमा काठमाडौंमा पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वाधारमा लगानी जुटाउने उद्देश्यसहित सम्मेलन गर्न लागेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए ।

‘सरकारले चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर, उच्च अंकको आर्थिक वृद्धि गर्न पूर्वाधारको विकास आवश्यक हुन्छ,’ उनले भने, ‘पूर्वाधारको विकास गर्न भने लगानीको आवश्यकता हुन्छ ।’ कार्यक्रममा भौतिक मन्त्रालयका उपसचिव शंकरसिंह धामीले पनि पूर्वाधारको विकासमा अझै काम गर्न बाँकी रहेको बताए । 

साथै, नयाँ र आधुनिक पूर्वाधार विकासमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सम्मेलनमा २५ देशका झन्डै ६ सय लगानीकर्ता तथा विज्ञहरू उपस्थिति हुने बताइएको छ । नेपालबाट पनि निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति हुनेछ । त्यसो गर्दा सम्मेलनमा झन्डै एक हजारजनाको उपस्थिति हुने बताइएको छ ।  

सुझावित समाचार