नाैजनाको समूहले समता स्कुलको प्रांगणमा ४ हजार विद्यार्थीहरू माझ एक नयाँ कीर्तिमानको प्रयास गरेको छ। श्रावण २९ गते समूहले १ मिनेट १२ सेकेन्ड ५६ मिली सेकेन्डमा एक हजार एक विद्यार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको हो।
विश्वमा यो एउटा नौलो तथा उत्कृष्ट उदाहरणीय कीर्तिमान हुने आयोजकको दाबी छ। विश्व कीर्तिमानका लागि गनिका गुरुङ, रोशन कुमार, टिकवीर राई, चमरसिंह तामाङ, सुजना राई, अनिल बुर्जामगर, सरला पन्थी, शिरिष्मा लामा र निर्णाय श्रेष्ठ एनएसके अभियानमा जोडिँदै विभिन्न १० जिल्लाका स्कुलका विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरिएको छ।
यो विश्व कीर्तिमानको अवलोकन वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कटवालले गरेका थिए। उनका अनुसार यस कार्यक्रमको श्रव्य दृश्य लन्डनमा पठाइनेछ र त्यसलाई अध्ययन गरी विश्व कीर्तिमानको उपाधि दिइनेछ।
कार्यक्रमका सहभागी वरिष्ठ र्यापर तथा समाजसेवी निर्णाय श्रेष्ठका अनुसार यो एउटा प्रतीकात्मक विश्व कीर्तिमानले अरू समाजसेवीहरूलाई उत्प्रेरित कार्य गर्न हौसला मिल्नेछ। त्यस्तै, समूहलाई प्रतिनिधित्व गर्दै सहभागी भएकी गनिका गुरुङले भनिन्,‘अहिले हामीले एक सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौँ भने भविष्यमा एक सय एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी यो कीर्तिमान ब्रेक गरी नयाँ कीर्तिमान राख्ने प्रयास गर्नेछौँ।’