आत्मदाह प्रयास गरेकी निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, फैसला गर्ने न्यायाधीशमाथि छानबिन सुरु

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

शुक्रबार शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छिन् । शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेकी हुन् । 

के कति कारणले उनी अनशन बस्न बाध्य भएकी हुन्, त्यसबारे राष्ट्रपतिले चासो राखेको कानुनमन्त्री बन्दीले बताए । ‘निहारिकाको मुद्दा के हो, किन अनशन बसिरहेकी छिन्, के कारणले आत्मदाहको प्रयास गरिन् भनेर उहाँले जिज्ञासा राख्नुभयो, हामीले ब्रिफ गर्यौँ,’ कानुनमन्त्री खातीले नयाँ पत्रिकासँग भने । 

महोत्तरी जलेश्वरकी निहारिका आफूलाई बलात्कार गर्ने पीडकलाई अदालतले सफाइ दिएको भन्दै न्यायको मागसहित अनशन बसिरहेकी छिन् । आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर बलात्कार गरेको तर जिल्ला अदालत धनुषाले सफाइ दिएको उनको आरोप छ ।

त्यसपछि उच्च अदालत जनकपुरमा पुनरावेदन चढाएको ६ महिना बितिसक्दा पनि पेसी सरेकोसर्यै भएपछि आफू अनशन बस्न बाध्य भएको निहारिकाको भनाइ छ । उनी पहिलोपटक गत २७ जेठदेखि सात दिन आमरण अनशनमा बसेकी थिइन् । त्यतिवेला उनले आफ्नो बच्चाको डिएनएन परीक्षण गर्नुपर्ने, बलात्कारीलाई पुनः पक्राउ गरेर अनुसन्धान गरिनुपर्नेलगायत पाँचबुँदे माग राखेकी थिइन् । 

फैसला गर्ने न्यायाधीशमाथि छानबिन सुरु
न्यायपरिषद् सदस्यसमेत रहेका कानुनमन्त्री बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने तत्कालीन न्यायाधीश परशुराम भट्टराईमाथि पनि कारबाहीको प्रक्रिया सुरु भएको बताए ।  ‘फैसला त्रुटिपूर्ण देखिन्छ । उहाँमाथि छानबिन सुरु भइसकेको छ,’ उनले भने । 

 जिल्ला अदालत धनुषाले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै अभियुक्त श्रेष्ठलाई सफाइ दिएको थियो । त्यतिवेला पीडितकै कागजातलाई न्यायाधीशले फैसलाको आधार बनाएको देखिन्छ । जाहेरी दिनुअघि जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले दुईपटक निवेदन चढाएको देखिन्छ । जहाँ उनले आरोपीसँगको आफ्नो सम्बन्धलाई ‘श्रीमान्–श्रीमती’ भनेर उल्लेख गरेकी छिन् । 

त्यसैलाई उल्लेख गर्दै अदालतको फैसलामा भनिएको छ, ‘यो जाहेरी पर्नुपूर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन ११ गते ‘हक–अधिकार दिलाइपाऊँ’ भनी दिएको देखिन्छ । निवेदनमा जाहेरीवाली र प्रतिवादी श्रीमान्–श्रीमती हो भनिएको छ । जाहेरी पर्नुपूर्व दिइएका यी निवेदनमा जबर्जस्ती करणी भएको भन्ने विषयमा केही पनि उल्लेख गर्नुभएको देखिँदैन । हस्पिटलमा प्रेग्नेन्सी टेस्ट (गर्भ परीक्षण) गराउँदा पनि श्रीमान्–श्रीमती लेखाएको देखिन्छ भने निजले शारीरिक परीक्षण गराउँदा पनि प्रतिवादीसँग म सात–आठ महिनादेखि शारीरिक सम्पर्कमा रहेको भनी उल्लेख गरेको पाइन्छ । पीडितको जाहेरी र अदालतमा भएको निजको बकपत्रमा समेत जबर्जस्ती करणी गरेको हो भनी व्यक्त गरेको भए पनि जाहेरीमा उल्लेखित व्यहोरा र अदालतमा भएको बकपत्रको व्यहोरा नमिली परस्परमा बाझिएको र जाहेरीमा उल्लेख गरेभन्दा बढी कुरा अदालतमा लेखाएको पाइन्छ ।’ 

जाहेरीवालाले जाहेरीमा भनेको कुरा र अदालतमा भएको निजको बकपत्रमा एकरूपता नभएको भन्दै न्यायाधीश भट्टराईले फैसलामा भनेका छन्, ‘प्रतिवादीका साक्षी र स्वयं वादीको घटना विवरण र घटनास्थल मुचुल्कामा बस्ने साक्षीसमेतले प्रतिवादी निर्दोष छन् भनी अदालतमा बकपत्र गरेको र प्रतिवादी स्वयंले पनि जबर्जस्ती करणी गरेकोमा इन्कारी बयान गरेको अवस्था हुँदा यो जबर्जस्ती करणी मुद्दा स्वतन्त्र भरपर्दा प्रमाणको अभावमा स्थापित हुन सक्ने देखिएन । तसर्थ, प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर अपराध गरेको मान्न र भन्न नमिल्ने हुँदा प्रस्तुत मुद्दाबाट निज प्रतिवादी शिवराज श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’

तर, यो फैसलाले निहारिकाको बच्चाको हकमा भने छुट्टै कानुनी उपचार सुझाएको छ । ‘जाहेरवाली र प्रतिवादीको सम्बन्धको विषयमा र यी जाहेरवालीबाट जन्म भएको बच्चाको हकमा छुट्टै कानुनी उपचारबाट सम्बोधन प्राप्त हुने नै हुँदा यस मुद्दाको रोहबरबाट बोलिरहनुपरेन,’ फैसलामा उल्लेख छ । यता निहारिकाले भने जिल्ला प्रहरी कार्यालयमा ‘श्रीमान्–श्रीमती’ भनेर परेको निवेदनको हस्ताक्षर पनि आफ्नो नभएको बताउँदै आइरहेकी छिन् ।
 

सुझावित समाचार