मुसहर समुदायको सशक्तीकरणका लागि ‘पान सौ टका’ चलचित्र निर्माण गरिने

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

सामाजिक बहिष्करणमा पारिएको मुसहर समुदायको सशक्तीकरणका लागि मोरङका युवाहरूले ‘पान सौ टका’ नामक चलचित्र निर्माण सुरु गरेका छन् । मुसहर (ऋषिदेव) हरूका भाषामा उनीहरूकै समुदायको विकृति विसंगति तथा अन्याय र अत्याचारविरुद्धको कथा रहेको सानो पर्दाको चलचित्रको शनिबार  मोरङको बुढीगंगा गाउँपालिका २ मा  शुभमुर्हुत गरिएको छ । 

शुभारम्भ कार्यक्रममा बुढीगंगाका समाजसेवी कपिल सुनार, अशोक अधिकारी, सकिचन्द ऋषिदेवलगायतले सो चलचित्रले पछाडि पारिएको समुदायभित्र जागरण ल्याउन सफल हुने विश्वास व्यक्त्त गरे । चलचित्रमा अति पछाडि पारिएको दलित समुदायभित्रको मुसहर समुदायभित्र हुने अशिक्षा, बालविवाह, हिंसा, शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यले सन्देशमूलक चलचित्र बनाउन लागिएको निर्माता तथा चलचित्रका नायक धर्मेन्द्र ऋषिदेवले बताए । नायक धर्मेन्द्र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला नेता पनि हुन् । 

मुसहर समुदायको पहिलो चलचित्रलाई पुष्कर रानामगरले निर्देशन गर्ने भएका छन् । उनका अनुसार ‘पान सौ टका’ मुसहर समुदायको सघन बसोवास रहेको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा  छायांकन हुनेछ । दुई महिनाभित्र सुटिङ सकेर मुसहर समुदायको बसोवास रहेको २२ जिल्लामा च्यारेटी साे गर्ने योजना रहेको निर्माता र निर्देशकको भनाइ छ । चारवटा सन्देशमूलक गीत समोवश गरिने चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव, साइमन सदालगायतका कलाकारले अभिनय गर्नेछन् ।  

सुझावित समाचार