चलचित्र महानगर (वान नाइट इन काठमाडौं)को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको चलचित्रमा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ।
सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिंगटन डिसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना तथा नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ। यसका साथै इन्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि चलचित्र महानगर छनोट भएको छ।
चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो।
माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडल वे फिल्मसले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ। चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रोड्युसर रहेका छन्।
चलचित्रको प्रदर्शन निकट भविष्यमा गर्न तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन्।