शुक्रबारदेखि फोहोर उठ्ने

सरकारले असहयोग गरेको भन्दै वडाध्यक्ष दलबहादुर कार्कीले बागमतीमा फोहोर फाल्न गरे प्रस्ताव

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र साहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् । बैठकमा कार्यपालिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख साहले २३ साउन राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन तोडफोड भएकाले फोहोर नउठेको भन्दै शुक्रबारदेखि उठ्ने बताए । ‘फोहोर व्यवस्थापनको गाडीमा तोडफोड भएका कारण हिजो र अस्ति फोहोर गएन । त्योभन्दा अगाडि दुईदेखि तीन सय टनसम्म फोहोर गएको छ,’ साहले भने, ‘सिसडोलमा दुई सय मिटर ट्र्याक बन्दै छ ।

सहरी विकास मन्त्रालयले भनेअनुसार हामीले आठ दिन फोहोर रोक्यौँ । तैपनि बाटो बनेन । बर्खा र फोहोरमाथिको बाटो भएका कारण बाटो बनाउन पनि अप्ठ्यारो छ । मन्त्रालयले १० दिनभित्र बाटो बन्छ, अहिले एकतर्फी चलाउन भनेको छ । शुक्रबारदेखि फोहोर लान सकिन्छ ।’

बिहीबारको कार्यपालिका बैठकमा प्रमुख साहले एजेन्डा प्रस्तुत गर्दैगर्दा शुक्रबारदेखि सुरु हुने चाडपर्व र जात्रालाई मध्यनजर गरेर सडकका फोहोर उठाउनुपर्ने भन्दै सदस्यहरूले अन्य एजेन्डा प्रस्तुत गर्न दिएनन् । वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले शुक्रबार र शनिबार गाईजात्रा भएकाले जसरी पनि फोहोर व्यवस्थापन गर्न माग गरे । ‘कोर एरियाको फोहोर उठाउन सकेनौँ भने महानगरका सबै जनताले हामीलाई गाली गर्नेछन् । हामी पनि खट्न परे खटौँला, तर राति नै कोर एरियामा गाईजात्रा हुने ठाउँको फोहोर क्लियर गर्नुपर्यो,’ उनले भने, ‘टेकुमा हजारौँ टिप फोहोर भइसक्यो । त्यहाँ राख्न सक्ने अवस्था छैन । त्यसैले जसरी हुन्छ कोर एरियाको जात्रा हुने क्षेत्रमा भोलि होइन, आजै अहिले नै फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ 

बर्खा र फोहोरमाथिको बाटो भएका कारण बाटो बनाउन पनि अप्ठ्यारो छ । सहरी विकास मन्त्रालयले १० दिनभित्र बाटो बन्छ, अहिले एकतर्फी चलाउन भनेको छ । शुक्रबारदेखि उपत्यकाको फोहोर लान सकिन्छ ।
 बालेन्द्र साह, मेयर, काठमाडौं महानगरपालिका

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले प्रमुख साह एक्लै हिँड्न खोजेकाले फोहोर व्यवस्थापनलगायतका समस्या समयमै समाधान हुन नसकेको आरोप लगाए । ‘मेयरज्यू सिसडोल जानुहुन्छ । मन्त्रालय जानुहुन्छ । एक्लैएक्लै जानुहुन्छ । टिमलाई लिएर जानुभएको छैन । टिम लिएर जाँदा दबाब पनि पर्छ । तर, त्यस्तो गर्नुहुन्न,’ उनले भने । बैठकमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले फोहोर बाग्मतीमा फालिदिनुपर्ने बताए । ‘बन्चरेडाँडामा फोहोर फाल्न दिँदैन । सिसडोलमा दिँदैनन् । कहीँ पनि फोहोर फाल्न दिँदैनन् । सरकार हेरेर मात्र बस्छ । असहयोग मात्र गर्छ भने हाम्रो विरुद्ध सरकार लागेको सम्झनुपर्छ । राजधानीको समस्या सरकारले समाधान नगर्ने हो भने त्यो फोहोर बाग्मतीको पुलबाट फाल्नुभन्दा अन्य विकल्प छैन,’ कार्कीले भने । उनले काठमाडौंवासीलाई फोहोरमा राखेर नर्कको जिन्दगी बिताउन बाध्य गराएको भन्दै अब काठमाडौंवासी प्रमुख साहको नेतृत्वमा सरकारविरुद्ध उत्रिनुपर्ने बताए । 

वडाध्यक्ष नवीन मानन्धरले फोहोर लान सकिएको अवस्थामा पनि महानगरको फोहोरको भोलुम नघटाउँदा यस्तो अवस्था आएको बताए । ‘सहज अवस्थामा महानगरको मात्र फोहोर दुई सय टिप लान पाएको भए हाम्रो फोहोरको भोलुम घट्थ्यो । तर, त्यसो गरिएन । जसकारण यस्तो समस्या आयो,’ उनले भने, ‘भक्तपुर, धरान नगरपालिका र हेटौँडा उपमहानगरपालिका फोहोर व्यवस्थापनमा अगाडि बढिसके । हामी पनि प्लान ए, बी, सीमा कहाँ जान्छौँ भन्ने कुरामा अगाडि जान सकेनौँ ।’ 

See More On

सुझावित समाचार