महानगरको कदम रोक्न सर्वोच्च पुग्यो नर्भिक

संरचना तत्काल नहटाउन सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

गैरकानुनी रूपमा निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले दिएको अल्टिमेटम कार्यान्वयन रोक्न नर्भिक इन्टरनेसनल हस्पिटल सर्वोच्च अदालत पुगेको छ । 
अदालतले बुधबार नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरले दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । 
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो । 
आगामी सोमबार अर्थात् ३० साउनमा संरचना हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुनेछ । अदालतले उक्त संरचना हटाउनुपर्नाको कारणसहित लिखित जवाफ पेस गर्नसमेत महानगरलाई आदेश दिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैँ पुगेर सूचना टाँस गर्न लगाएका थिए । महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । 
यद्यपि, हिजै अस्पताल पुगेर महानगर प्रमुख शाहले संरचना हटाउन केही दिन समय दिने सहमति गरेका छन् । दुवै पक्षका प्राविधिकहरूले समय तय गर्ने सहमति भएको छ । 
 

सुझावित समाचार