नेपाल–खनालबीच के मुद्दामा छ खटपट ?

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

स्थानीय तहको चुनावपछि १५ असारमा सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा सम्मानित नेता झलनाथ खनालले आमनिर्वाचनमा पार्टीको पहिलो प्राथमिकता एमालेसहितको वामपन्थी गठबन्धन बनाउने दिशामा हुुनुपर्ने धारणा राखेका थिए । उनले केपी ओली प्रवृत्तिबाहेक आलोचना गर्न नहुने र स्थानीय तह निर्वाचनको परिणामबाट पाठ सिकेर एमालेसँग जिल्लाजिल्लामा हुन सक्ने सम्भावित तालमेलका लागि ढोका खुला राखेर जानुपर्ने विचार राखेका थिए । 

तर, अध्यक्ष माधव नेपालले भने ओलीले संसद् विघटनबारे आत्मालोचित नभएसम्म गठबन्धन र तालमेल केही पनि सम्भव नहुने र मूल नेतृत्व नै बाधक बनिरहेका वेला गठबन्धन गरेर जाने कुरा घातक हुने भएकाले अलमलमा पर्न जरुरी नभएको विचार राखेका थिए । दुवै नेता अहिलेसम्म आ–आफ्नै विचारमा अडिग छन् ।

पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरेका खनाल निरन्तर एमालेका दोस्रो तहका नेताहरूसँग सम्पर्क र संवादमा छन् । तर, नेपालले अहिलेकै गठबन्धनलाई बलियो बनाएर जानुपर्ने अन्यथा गठबन्धनभित्रै एमालेबाहेकको उपगठबन्धन बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् । खनालको वैचारिक प्रभाव पदाधिकारी र केन्द्रीय कमिटीमा मात्र होइन, युवा संघ, अनेरास्ववियुजस्ता शक्तिशाली भ्रातृ संगठनहरूमा पनि पर्दै गएको छ । 

‘आजको दिनमा एमालेसहितको वामपन्थी गठबन्धन नै प्राकृतिक हुन्छ भन्ने पार्टीभित्र ठूलै मत छ र यो आजको वस्तुगत आवश्यकता पनि हो,’ पार्टी केन्द्रीय सदस्यसमेत रहेका युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले भने, ‘तर, अझै यो परिस्थिति बनिसकेको अवस्था भने होइन ।’ अध्यक्ष शाही र संघका महासचिव दीपक जिएमले खनालको पछिल्लो धारणालाई साथ दिइरहेका छन् । त्यस्तै, तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने, स्थायी समिति सदस्य केदार न्यौपानेलगायतले पार्टीका आन्तरिक कार्यक्रम र सामाजिक सञ्जालमा आमनिर्वाचनमा कांग्रेससँग नभएर एमालेसहितको चुनावी गठबन्धन बनाएर जानु उपयुक्त हुने धारणा राखिरहेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष, उपमहासचिव, सचिव पदमा रहेका थुप्रै नेता संघीय सांसदका प्रत्यक्ष आकांक्षी देखिन्छन् ।

एकीकृत समाजवादीका अधिकांश पदाधिकारी प्रत्यक्ष निर्वाचित सांसद होइनन् । उनीहरू कांग्रेसले सिट बाँडफाँटमा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान नदिए संघीय संसद्मा निर्वाचन लड्ने आफूहरूको चाहना पूरा नहुने बुझाइमा छ । सोही कारण खनालले भने जस्तै उनीहरू एमालेसँगको तालमेल वा गठबन्धनलाई प्राथमिकतामा राखेर जानुपर्ने पक्षमा देखिएका छन् । 

यद्यपि, उनीहरूले सार्वजनिक रूपमै खुलेर त्यस्ता विचार भने राखिसकेका छैनन् ।  उता, मन्त्रिपरिषद् हेरफेरबाट असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, विरोध खतिवडा पार्टीका गतिविधिमा अझै सक्रिय बनेका छैनन् । उनीहरूले एमालेका नेताहरूसँग आन्तरिक सम्पर्क बढाइरहेका छन् । पूर्वश्रममन्त्री श्रेष्ठले पाँच दलले मिलेर जाने कुरा गरिरहँदा पहिला सिट बाँडफाँटमै स्पष्ट भएर जानुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए । 

‘पाँच दलको हकमा मिल्नुपर्छ भन्ने नै हो, तर मेरै निर्वाचन क्षेत्रमा म उठ्ने कि रामचन्द्रजी क्लियर छैन, पहिला सिटमा क्लियर हुनुपर्छ, स्थानीय तहमा जस्तो भद्रगोल हुनहुँदैन भन्ने धारणा पार्टीमा राखेको छु, त्यसो भएमा गठबन्धन टुट्दैन भन्नेमा म विश्वस्त छु,’ श्रेष्ठले भने । उनी संघीय सांसदका लागि पुनः आकांक्षी छन् । 

उता, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सञ्चारमाध्यमहरूमा विकास निर्माण अगाडि बढाउने सवालमा ओली र नेपालमा कुनै भिन्नता नदेखिएको धारणा सार्वजनिक गरेर पार्टी नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । यसले अध्यक्ष नेपालसँग झाँक्रीको दूरी बढ्दै गएको छ ।

सुझावित समाचार