एमालेले जबरालाई जोगाउन चाहेको सांसद गजुरेलको आरोप

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन् । 

महाभियोग पारित गर्न दुईतिहाइ चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको सांसद गजुरेलको भनाइ थियो ।  उनले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले ‘जिब्रो चपाएर’ कुरा गरेको बताए । 

‘प्रतिपक्षले सहयोग नगरी पारित (महाभियोग प्रस्ताव) हुँदैन । प्रतिपक्ष त अगाडि आउनुपर्याे नि ल तपाईंहरू अगाडि बढाउनुस्, हामी छौँ । तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ,’ उनले भने, ‘यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ । यस्तो गर्नुहुन्न । यस्तो विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा नउभिनु दुःखद कुरो हो ।’

सुझावित समाचार