वित्तीय संकटमा पनि बैंकहरूको नाफा ७४ अर्ब ३८ करोड

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

लगानीयोग्य तरलताको चाप बढेसँगै वाणिज्य बैंकहरूको स्प्रेड दरमा भएको वृद्धिले नाफा बढाउन सहयोग

लगानीयोग्य वित्तीय स्रोतको चरम अभाव भोगिरहेका वाणिज्य बैंकहरूले नाफामा भने उल्लेख्य वृद्धि गरेका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गत आर्थिक वर्षको वासलातले भने उनीहरूको नाफामा उच्च वृद्धि देखिएको छ । 

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनबमोजिम शनिबारसम्म २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार सबै बैंकहरूको खुद नाफाको जोड ७४ अर्ब ३८ करोड देखिएको छ । बैंकको नाफाको औसत वृद्धिदर २१.८० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा बैंकहरूको नाफा ६१ अर्ब ६ करोड थियो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको चाप बढेसँगै बैंकहरूको ब्याजदर अन्तर (स्प्रेड दर)मा भएको वृद्धिले बैंकको नाफालाई बढाउन मद्दत पुगेको बैंकरहरूको भनाइ छ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले तरलता चापकै कारण नाफामा वृद्धि भएको बताए । उनले भने, ‘२.६ प्रतिशतमा पुगेको स्प्रेडदर ४ प्रतिशतसम्म पुगेको छ । अनि बैंकको नाफा त बढ्ने नै भयो ।’ 

तरलता संकटकै कारण बैंकहरूले ट्रेजरी बिल्समा गरेको लगानीबापत १४ प्रतिशतसम्म प्रतिफल पाउन थालेका छन् । गत वर्षसम्म अधिकतम ३.७४ प्रतिशतसम्म ब्याज पाइरहेका बैंकहरूले सरकारबाटै १४ प्रतिशतसम्म पाउने अवस्था पुगेकाले बैंकको नाफा बढ्नु स्वाभाविक भएको ज्ञवालीको तर्क छ । 

तत्काल नाफा बढेको देखिए पनि आगामी दिन यस्तै नाफालाई कायम राख्न चुनौतीपूर्ण रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोभिडको समयमा दिएका सुविधाहरू फिर्ता गरेका कारण खराब कर्जाको व्यवस्थापन मुख्य चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘बैंकहरूको लागत बढ्दै गइरहेको छ । त्यस्तै, कोभिडको समयमा ऋण भुक्तानी नभएकाले जोखिम पनि बढ्ने सम्भावना छ ।’ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको १५ दिनसम्म प्राप्त ब्याजलाई पनि आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरिएकाले पनि नाफा थप वृद्धि हुने देखिन्छ । 

जो अर्बको समूहमा प्रवेश गरे 
गत आवमा तीन बैंकहरू एक अर्बभन्दा बढी खुद नाफा कमाउने समूहमा प्रवेश गरेका छन् । जसमध्ये दुई बैंक त पहिलोपटक खुद नाफा अर्बभन्दा बढी कमाउने समूहमा प्रवेश गरेका हुन् । नेपाल एसबिआई बैंकले अघिल्लो आर्थिक ९६ करोड मात्रै नाफा कमाएको थियो । पहिलोपटक अर्बभन्दा बढी नाफा कमाउने दुइटा वाणिज्य हुन्, सिभल बैंक र सेन्चुरी । अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ कमाएको सिभिल बैंकले यसपालि एक अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ६३ अर्ब मात्रै खुद नाफा आर्जन गरेको सेन्चुरी बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३५ करोड कमाएको छ । 

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा दुई अर्ब कमाउने बैंकहरूको नाफा तीन अर्बमाथि पुगेको छ भने चार अर्ब कमाउनेहरू पाँच अर्बभन्दा बढी नाफा गर्ने समूहमा पुगेका छन् । दुई अर्बभन्दा कम नाफा कमाउने पाँचवटा मात्रै बैंक छन् । बैंक अफ काठमाण्डू, नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र सेन्चुरी बैंकको नाफा दुई अर्ब रुपैयाँभन्दा कम छ । 
त्यस्तै, दुई अर्बभन्दा बढी कमाउने बैंकहरूको संख्या १२ वटा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्बभन्दा बढी कमाउने आठवटा मात्रै बैंक थिए । कुमारी बैंक, मेगा बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन बैंक, माछापुच्छ«े बैंक, सन्राइज बैंक र एनसिसी बैंकको नाफा दुई अर्बभन्दा बढी छ । यीमध्ये ६ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा दुई अर्बभन्दा कम थियो । 

एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकको खुद नाफा तीन अर्ब रुपैयाँभन्दा बढी छ । यीमध्ये प्राइम कमर्सियल बैंकको मात्रै अघिल्लो आर्थिक वर्षमा खुद नाफा तीन अर्बमाथि थियो । नबिल बैंक, एनआइसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा चार अर्बभन्दा माथि पुगेको छ । राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको नाफा भने पाँच अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।   

वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड 
२६ बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गरेपछि बैंकहरूले लगानीकर्तालाई बोनस सेयर मात्रै वितरण गर्दै आएका थिए । यसपालि मौद्रिक नीतिले नै बैंकहरूलाई नगद लाभांश बाँड्ने ढोका खोलिदिएको छ । कोभिडको समयमा दिइएका सुविधाहरू खोसिएसँगै नगद लाभांश वितरणमा समेत राष्ट्र बैंक उदार देखिएको हो । 

सर्वाधिक खुद नाफा कमाएको राष्ट्र वाणिज्य बैंक यसपालि नगद लाभांश बाँड्ने पक्षमा छैन । उसले गत आर्थिक वर्षमा पाँच अर्ब २१ करोड नाफा आर्जन गरेको छ । तर, नगद लाभांश बाँड्नेभन्दा पनि पुँजी वृद्धिमै केन्द्रित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनले भने, ‘हामीलाई पुँजी बढाउनुपर्ने अहिले दबाब छ । त्यसैले यसपालि नगद लाभांश वितरण गरिहाल्ने सोच छैन । तर, हामी छलफल गर्दै छौँ ।’ 

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भने राष्ट्र बैंकले सीमा हटाइसकेको अवस्थामा बैंकहरूले लाभांश वितरण गर्ने बताए । उनले भने, ‘दुई वर्षदेखि नगद लाभांश बाँड्न सकिएको छैन । अब त बैंकहरूले नगद लाभांश बाँड्छन् ।’

See More On

सुझावित समाचार