गहनासम्बन्धी एक्स्पोमा भाग लिन जान लागेका सन्तोष लामिछानेविरुद्ध उजुरी परेको भन्दै प्रहरीले सबै यात्रुलाई विमानबाट केही समय झारेको थियो
भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानको उडान रोकेर प्रहरीले बुधबार एक सुन व्यवसायीलाई नियन्त्रणमा लिएको छ । कैलालीका व्यवसायी सन्तोष लामिछानेलाई पक्राउ गर्न प्रहरीले उड्न लागेको विमान दुई घन्टा रोकेको हो ।
लामिछाने अन्य सुनचाँदी व्यवसायीसहित मुम्बई जाँदै थिए । गहनासम्बन्धी एक्स्पोमा भाग लिन जान लागेका उनीविरुद्ध उजुरी परेको भन्दै प्रहरीले सबै यात्रु विमानबाट केही समय झारेको थियो । लामिछाने र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि विमान उड्न दिइएको थियो । लामिछानेमाथिको अभियोग प्रहरीले खुलाएको छैन ।
स्रोतका अनुसार सुरुमा आतंककारी गतिविधिमा संलग्न शंकास्पद व्यक्ति विमानभित्र रहेको भन्दै उडान रोक्न लगाइएको थियो । आतंकवादसम्बन्धी गतिविधि अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोमार्फत यसरी विमान रोक्न लगाइएको हो ।
आतंकवादसँग सम्बन्धित व्यक्ति रहेको भनिए पनि सामान्य व्यापारीलाई नियन्त्रणमा लिन यसरी उड्न लागेको विमान नै रोकिएकोमा नागरिक उड्डयन अधिकारीले आश्चर्य मानेका छन् ।
व्यापारी लामिछाने एक्स्पोमा जान लागेको र जान नपाएका केही व्यापारीले प्रहरी लगाएर उनलाई पक्राउ गराएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको छ ।