कालोपत्रे गरेको दुई वर्षमै भत्कियो दोलखा–सिँगटी सडक

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो । कालोपत्रे भत्किएर बनेका खाल्डोमा पानी जमेपछि चालक तथा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । सडक विभागले ०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो । सडक निर्माणको ठेक्का पाएको कम्पनीले दुई वर्षअघि कालोपत्रे गरेर डिभिजन सडक कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको पनि थियो । तर, डिभिजन सडक कार्यालयले उक्त सडकको मर्मत तथा व्यवस्थापनमा चासो नदिएपछि अहिले तहस–नहस हुने गरी भत्किएको छ । 

कालोपत्रे गरिएका प्रायः सबै मोडमा अहिले ठुल्ठूला खाल्डा छन् । दोलखा बजारदेखि सिँगटीसम्म झन्डै दुई सयभन्दा धेरै ठाउँमा ठूला–साना खाल्डा छन् ।एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तरबारे आशंका उब्जेको छ । स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्किँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी रहँदैन । दोलखा बजारको डिलबाट उकालो चढेपछि चार्थली हुँदै राम्पासम्म पुग्दा सडकका धेरै स्थानमा ठूला खाल्डा देखिन्छन् । यस्तै कुथली, क्षमावती, सुन्द्रावती, सुनखानी, बन्चरेलगायत स्थानमा पनि कालोपत्रे उप्किएर अस्तव्यस्त बनेको छ । 

सडक अस्तव्यस्त हुँदा यात्रुदेखि सवारीसाधनमा समेत ठूलो क्षति पुग्ने गरेको भीमेश्वर वितरक संघका पूर्वअध्यक्षसमेत रहेका दोलखाका व्यवसायी विवेक केसीले बताए । उनले सडकको यो अवस्था हुँदा डिभिजन सडक कार्यालय कानमा तेल हालेर बसेको आरोप लगाए । 

 गुणस्तरमा शंका 
डिबिएसटी प्रविधिको कालोपत्रे गरिएको यो सडक किन यति छोटो समयमै भत्कियो भन्ने चर्चा चौतर्फी रूपमा हुने गरेको छ । सडक विभागका अधिकारीका अनुसार पहाडी भूभागमा गरिने कालोपत्रेमा प्रायः यही विधि अपनाइन्छ । उनीहरू यो प्रविधि कमजोर नभएको दाबी गर्छन् । अलकत्रा, गिटी, धुलोसहित सबै सामग्रीको समिश्रण मिलेमा र भौगोलिक बनावटले समेत साथ दिए यो विधि प्रयोग गरेर बनाइएका सडक मजबुत हुने उनीहरूको भनाइ छ ।

तर, निर्माण गर्दा मिसावटमा ध्यान नदिएकै कारण कालोपत्रे चाँडै भत्किएको हुन सक्ने अनुमान उनीहरूको छ । एसियाली विकास बैंकको सहयोगमा ७० करोड रुपैयाँ खर्चेर दुई वर्षअघि ३५ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यो सडकको ट्र्याक खन्ने काम भने २० वर्षअघि नै भएको थियो । तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खनेपछि तामाकोसी जलविद्युत् आयोजनाले करिब एक अर्ब रुपैयाँ खर्च गरेर ग्राभेल गरी सडक सञ्चालनमा ल्याएको थियो । 

 मर्मतको तयारी
डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालले दोलखा–सिँगटी सडकको कालोपत्रे भत्किँदै गएको स्वीकार गरे । ‘कमसल कामले सडक भत्किएको होइन,’ उनले भने, ‘सडकको भौगोलिक बनावट पनि त्यस्तै छ । हामी मर्मतको तयारीमा छौँ ।’ सुवालले उक्त सडक मर्मत गर्न ठेक्का दिने प्रक्रिया सुरु भइसकेको बताए । उनले केही दिनभित्रै सम्झौताका लागि कम्पनी छनोट हुने बताए । डिभिजन प्रमुख सुवालले नियमित मर्मतको प्रयास गरे पनि धेरै ठाउँमा समस्या आएको बताए । 

सुझावित समाचार