न्यायालयका भवन निर्माणमा भएका अनियमितता छानबिन गर्न ट्रेड युनियनहरूको माग

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतमा रहेका राष्ट्रियस्तरका ट्रेड युनियनहरूले सर्वोच्च अदालतलगायत विभिन्न अदालतका भवन निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न माग गरेका छन् । बुधबार नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती तथा एकीकृत सरकारी  कर्मचारी संगठनले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

सर्वोच्च अदालतलगायत विभिन्न अदालतका भवनहरू निर्माणका सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीतका कार्य भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धमा सर्वोच्च अदालत प्रशासन र कामु प्रधानन्यायाधीशको सचिवालयबाट छुट्टाछुट्टै व्यहोराको पत्राचार भएको र महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा समेत भवन ठेक्का प्रक्रियामा मितव्ययिता कायम हुन नसकेको भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रकाशित तथा प्रसारित न्यायालयको जनआस्था खस्काउने प्रकारका समाचार र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको  विज्ञप्तिमा  उल्लेख छ । 

‘सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी अनियमितता भएको देखिए दोषीउपर कारबाही गर्न र सर्वोच्च अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न जोडदार माग गर्दै यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौँ,’ उल्लेखित संस्थाका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भनिएको छ । 

सुझावित समाचार