रामेछापको गेलुमा १५ घर पहिरोको उच्च जोखिममा, ६ घरपरिवार विस्थापित

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

केही दिनदेखि लगातार रूपमा परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झर्दा मन्थली नगरपालिका– १२ गेलु रजाई टोलका १५ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।  ६ घरपरिवार विस्थापित भएका छन् । 

गेलु रजाई टोलमा रहेको अग्लेश्वर मन्दिरको पश्चिमतर्फको डिलमा ठूलाठूला धाँजा फाट्दै चर्किएर पहिरो झरेपछि पहिरोमुनि रहेका १५ घरपरिवार उच्च जोखिममा परेका हुन् । पहिरोबाट विस्थापित हुनेहरूमा योगेन्द्र अधिकारी, भोजबहादुर अधिकारी, मोहनबहादुर अधिकारी, केशव अधिकारी, तोरणबहादुर अधिकारी र कृष्णमाया अधिकारी गरी ६ घरपरिवार विस्थापित भएका छन् । 

पहिरोबाट विस्थापित परिवारबाहेकका अन्य ११ घर पनि उच्च जोखिममा रहेका छन् । पहिरोमुनि घर भएका नागरिक अहिले कतिखेर घरमाथिबाट पहिरो झर्छ भन्ने त्रासमा दिनरात कटाउन बाध्य छन् । गेलुमा यसअघि पनि वर्षातको समयमा पटक–पटक पहिरो जाने समस्याले नागरिकलाई सताउँदै आएको थियो ।

पहिरोबाट विस्थापित परिवार अहिले छिमेकी र आफन्तको शरण लिएर बसेका छन् भने केही विस्थापित बारीको पाटोमा त्रिपाल हालेर बस्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए । 

See More On

सुझावित समाचार