लगातारको बाढीले मुगुको खत्याडका धानखेत बगरमा परिणत

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का धानखेतरू बगरमा परिणत भएका छन् । अविरल वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरूमा पानीको बहाव बढेर ढुंगा, काठका ठुल्ठूला मुडा बगाएर ल्याएको बाढीपहिरोले धानबाली र बाटाघाटा, पुल पुलेसामा समेत क्षति गरेको हो ।

लगातारको वर्षातका कारण रारा तालबाट निस्केको खत्याड खोला र आसपासका साना खोला बढेर बाढीमा परिणत भई रोपिएको धान बाली, खेतीयोग्य जमिन, सिँचाइ कुला, नहरहरू सबै बगरमा परिणत भएको खत्याड गाउँपालिका– ८ रिगागाउँका अभिचन्द्र सञ्जेलले जानकारी दिए । अन्य पानीघट्ट, काठेपुल, सडक, गोरेटाबाटालगायतका संरचना पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ ।

‘बाढीले सयौँ रोपनी खेतमा रोपिएका धान बाली पूर्ण रूपमा नष्ट भएको छ भने अन्य संरचना पूरै काम नलाग्ने भएका छन् । जेठमा रोपिएका धान करिब फुल्न लागेका थिए, सबै बाढीले बगायो,’ रिगागाउँकी ललित सञ्जेलले दुखेसो सुनाइन, ‘अब के गरेर जहानबच्चा पाल्ने होला ?’ अर्का कृषक रत्नचन्द्र सञ्जेलको पीडा पनि उस्तै छ । उनले भने, ‘आफ्नो पनि वर्षभरिलाई पुग्ने धान बाली सबै बाढीले बगाएर लग्यो । अब के गर्ने, कसरी वर्षभरिको लागि अन्न जोहो गर्ने भन्ने चिन्ता लागेको छ ।’ 

दर्जनौँ सडकमा क्षति

बाढीको कारण खत्याड गाउँपालिकाको  रिगागाउँ, आम, ठामलेक, लुई, कर्खा, जामिर, रिखिया, रास्कुटीबाडा, गम्था, पैखु, माझचौर, केरै, चिमाडुङ्ग्री, श्रीकोट, सेरीलगायत गाउँ बस्तीका धानबाली र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले मुगुका दर्जनौँ सडक भत्काएपछि यातायात आवतजावतमा समेत समस्या बनाएको छ । कैयाैँ घरबस्तीसमेत जोखिम बनाइदिएको छ ।

जिल्लाभरिमा कच्ची सडक मात्रै भएकाले अत्यधिक सडक हिलाम्य बनाएर यात्रुबाहक जिप, भाडाका गाडी, एम्बुलेन्स, मालबाहक गाडी, ट्याक्टरलगायत यातायातका साधन आउजाउमा समेत समस्या भएको छ ।

See More On

सुझावित समाचार