बराह बचत सहकारीको आठ अर्ब जोखिममा

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारीमा जम्मा भएको निक्षेपकर्ताको आठ अर्ब रुपैयाँ जोखिममा परेको छ । बराह गु्रपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछाने र सहकारीका अध्यक्ष मानबहादुर दियाली हुन् । 

सहकारीले बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि समस्यामा परेको छ । बराह सहकारीले बचतकर्ताले राखेको रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका छन् । उनीहरूले आइतबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङको कार्यालयमा तोडफोडसमेत गरेका थिए । बराहले आठ हजार सात सयभन्दा बढीलाई सेयर सदस्यमा समेत नराखेको पाइएको छ । नियमतः सहकारीले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् । तर, बराहले उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । सहकारीले ०७८ पुसदेखि नै बचतकर्तालाई बचत भुक्तानी दिन छाडेको थियो । 

बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्न पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । बराह कृषि तथा पशुपालन प्रालि, बराह फेमेली किचन धरान, बराह मल्टिप्रपोज कम्पनी प्रालि भेडेटार, बराहको नाममा रहेको बैंक खातालगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने निर्णय गरेको हो ।

कम्पनी रजिस्ट्रारको प्रतिनिधि, संघीय सहकारीका प्रतिनिधि र धरान उपमहानगरपालिकाका प्रतिनिधिसहितको पाँच सदस्यीय कार्यदलले निर्णय गरेको हो । समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकाले सोमबार सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

सुझावित समाचार