बुटवलको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकाको वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीको विशेष साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार माघदेखि सञ्चालनमा आउने जानकारी दिएका हुन् । 

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष ढकालले केबलकारको निर्माण आगामी पुसभित्रै सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुने कम्पनीले 
जनाएको छ ।  

अध्यक्ष ढकालले भने, ‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौवटा टावरमध्ये आठवटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ ।’

साथै, उनले माथिल्लो स्टेसनमा सब–स्ट्रक्चरको काम अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताए । माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनको भनाइ थियो ।

 ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटेललाई अन्तर्राष्ट्रिय चेन–होटेलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिए । केबलकारको ०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

सुझावित समाचार