एमाले अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय विभागहरूलाई बढीभन्दा बढी जनसरोकारका मुद्दा उठान गर्न निर्देशन दिएका छन् । पार्टीका ३३ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको संयुक्त बैठकलाई पार्टी केन्द्रीय कार्यालयमा आइतबार सम्बोधन गर्दै ओलीले राज्यका नीति तथा योजनामा प्रभाव पार्ने गरी काम गर्न पनि निर्देश गरेका छन् । ‘पार्टीमा धेरैभन्दा धेरै कार्यकर्तालाई भिजिटिङ कार्डहोल्डरका रूपमा होइन, जनसरोकारका विषय उठान गर्ने, नीति र योजनामा प्रभाव पार्ने काम गरेर देश र जनताको पक्षमा बढीभन्दा बढी योगदान गर्ने बनाउनुपर्छ । त्यसका लागि केन्द्रीय विभागको भूमिका महत्वपूर्ण हुने भएकाले तदनुकूल कार्ययोजना बनाएर काम अगाडि बढाउनुस्,’ ओलीको निर्देशन उद्धृत गर्दै केन्द्रीय सदस्य तथा खानेपानी तथा सरसफाइ विभागका प्रमुख झपट रावलले भने ।
विभागका काम व्यवस्थित र सक्रियताका साथ सम्पादन गर्न ध्यानाकर्षण गराएका थिए । ‘काम सकियो भन्ने हुँदैन । एउटा लक्ष्यसम्मको काम सकिएपछि त्यसले अर्को लक्ष्य निर्धारण गर्छ, अरू अगाडिको काम सुरु हुन्छ,’ ओलीले भने, ‘हामीले विभागका काम नयाँ शिराबाट थालेका छौँ, विभागका कामलाई चल्ते, चलाते ढंगले होइन, व्यवस्थित कार्ययोजनाअन्तर्गत निर्दिष्ट ढंगले सम्पादन गर्न चाहन्छौँ ।’
जिम्मेवारी पूरा नगर्नेलाई पार्टीमा कुनै छुट नदिइने भन्दै ओलीले त्यस्ता विभागीय प्रमुख, उपप्रमुख आफैँ हट्नुपर्ने स्मरण गराए । ‘हामी हरेकले कुनै पनि जिम्मेवारी सक्रियतापूर्वक पूरा गर्नुपर्छ, जिम्मेवारी पूरा गर्न नसके सकिनँ भन्नुपर्छ,’ ओलीले भने, ‘त्यो जिम्मेवारी अरूबाट पूरा गरिनेछ । जिम्मेवारी पूरा नगरी बस्नुहुँदैन, त्यसले पार्टीलाई मात्र होइन, हाम्रो आन्दोलन, हामीले तय गरेको गन्तव्यमा पुग्ने कुरामा बाधा पुग्छ ।’
ओलीले सबै विभागलाई विषयकेन्द्रित भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा आफूले गर्ने कामको रोस्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारबाहीविरुद्ध खरो रूपमा उत्रन पनि निर्देशन दिए । बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेस गरेका थिए । एमालेको दशौँ महाधिवेशनपछि गठित विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको संयुक्त रूपमा आयोजित यो पहिलो बैठक हो । बैठकमा महासचिव शंकर पोखरेल पनि उपस्थित थिए । पोखरेलले विभागलाई व्यवस्थित गर्दै आ–आफ्नो कार्यसम्पादन चुस्त बनाउन आग्रह गरे ।