२० अर्ब लागतमा हजार बेडको श्रमिक अस्पताल बनाउन सुझाव

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

एक हजार बेड क्षमता भएको श्रमिक अस्पताल निर्माण गर्न श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ । २५ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्न करिब २० अर्ब लागत लाग्ने पनि कार्यदलको निष्कर्ष रहेको छ । औपचारिक या अनौपचारिक क्षेत्रका श्रमिकहरू नेपालको सबैभन्दा ठूलो जनसंख्याको हिस्सा रहेको भन्दै २४ माघमा श्रम मन्त्रालयले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । त्यस्तै, गत ५ फागुनको मन्त्रिपरिषद्को बैठकले अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । 

सेनालाई सम्बोधन गरी सैनिक अस्पताल, नेपाली प्रहरीलाई प्रहरी अस्पताल, निजामती कर्मचारीलाई लक्षित गरी निजामती कर्मचारी अस्पताल सञ्चालित छन् । त्यस्तै, शिक्षकहरूलाई लक्षित गरी शिक्षक अस्पताल निर्माणका क्रममा छ । श्रमिक र उसको परिवारका लागि यस्तो सुविधा अपरिहार्य रहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । तत्कालीन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेको श्रमिकको दयनीय अस्वस्थतालाई मनन गरी श्रमिक अस्पतालको अवधारणा ल्याएका हुन् । 

 अस्पताल निर्माणमा बारा र पर्सा उपयुक्त 
श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माणका लागि मधेस प्रदेशको बारा र पर्सा उपयुक्त रहेको निष्कर्ष निकालेको छ । जनसंख्याको अवस्था, हाल सञ्चालनमा रहेका अस्पतालको अवस्था, वैदेशिक रोजगारीमा क्षेत्रगत रूपबाट संलग्न श्रमिकको संख्या, उद्योग प्रतिष्ठानको अवस्था, जग्गा प्राप्तिको सहजतालगायतका कारणले बारा र पर्सा पहिलो प्राथमिकतामा परेको कार्यदलले जनाएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाबाट जग्गा प्राप्तिको सुनिश्चिततासहितको पत्र प्राप्त भइसकेको पनि कार्यदलले जनाएको छ । त्यस्तै, कार्यदलले दोस्रो र तेस्रोमा मोरङ, सुनसरी क्षेत्र र रुपन्देही, कपिलवस्तु क्षेत्रलाई राखेको छ । 

 गन्तव्य मुलुकको सहयोगदेखि श्रमिकको स्वामित्व राख्न सकिने सुझाव
श्रमिक अस्पताल निर्माणका लागि श्रम गन्तव्य मुलुकबाट आर्थिक सहयोग माग्नेदेखि लिएर श्रमिकको स्वामित्व नै रहनेसम्मको विकल्पबारे अध्ययन कार्यदलले सुझाव दिएको छ । अस्पताल निर्माणलाई श्रम कूटनीतिको एउटा भागको रूपमा बनाई श्रम गन्तव्य मुलुकहरूलाई नै अनुदानमा निर्माण गरिदिनका लागि पहल गर्न सकिने विकल्प अगाडि सारिएको छ । त्यस्तै, सरकारको ५१ प्रतिशत स्वामित्व राखी वैदेशिक रोजगारीमा गएका श्रमिक तथा आन्तरिक श्रमिककै स्वामित्व रहने गरी स्रोत संकलन गर्न सकिने अर्को विकल्प प्रस्तुत गरेको छ । श्रमिकहरूलाई उनीहरूको मासिक तलबबाट नै सेयर खरिद गर्ने व्यवस्था मिलाई स्वामित्व प्रदान गर्ने सकिनेछ ।

 त्यस्तै, लागतको केही हिस्साका लागि सम्बन्धित स्थानीय तह सम्बन्धित प्रदेशबाट समेत लागत समझदारी गर्ने सकिनेछ । सम्भव भएसम्म अहिले रहेको श्रमिक कल्याणकारी कोषको रकमबाट केही समयका लागि ऋण लिएरसमेत अस्पताल निर्माण गर्न सकिने कार्यदलको सुझाव छ । 

 १० प्रतिशत आकस्मिक कक्ष
श्रमिक अस्पतालमा कुल बेड संख्यामध्ये १० प्रतिशत आकस्मिक कक्ष राख्न कार्यदलले सुझाव दिएको छ । आकस्मिक सेवाका लागि छुट्याइएको शड्ढयालाई रातो, पहँेलो, हरियो, कालोमा वर्गीकरण गर्नुपर्नेछ । रातो रङले अति सिकिस्त बिरामी भनेर चिनाउनेछ । अति सिकिस्त बिरामीका लागि १ प्रतिशत शड्ढया छुट्याउनुपर्नेछ । पहेँलो रङले सिकिस्त बिरामी भनेर जनाउनेछ । यस्तो खालको बिरामीका लागि २ प्रतिशत शड्ढया छुट्याउनुपर्नेछ । हरियो रंकले सामान्य बिरामी भनी चिनाउनेछ । यस्तो खालको बिरामीका लागि ३ प्रतिशत छुट्याउनुपर्नेछ । कालो रङले भने मृत्यु भइसकेको बिरामीलाई जनाउनेछ । यस्तो खालको बिरामीका लागि एक प्रतिशत शड्ढया छुट्याउनुपर्नेछ । अवलोकनका लागि ३ प्रतिशत शड्ढया छुट्याइएको हुनुपर्नेछ । 

सुझावित समाचार