दूधको उचित मूल्य नपाएको नरैनापुरका किसानको गुनासो

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण
दूधको उचित मूल्य नपाएको नरैनापुरका किसानको गुनासो

तस्बिर : खुला ठाउँमा भैँसी चराउँदै नरैनापुरका किसान ।

बाँकेको सुदूर पूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका पशुपालक किसानले उत्पादन गरेको दूधको मूल्य पाउन सकेका छैनन् । परम्परागत तरिकाले भैँसीपालन गर्दै आएका एउटै किसानले ४०–५० लिटर दूध उत्पादन गरे पनि बजार मूल्य नपाउँदा मर्कामा परेको नरैनापुर गाउँपालिका–५, मटेहियाका रामफेरन यादवले बताए । 

यादवले २५ वटा भैँसी पालेका छन् । ती मध्ये १२ वटाले दूध दिन्छन् । दैनिक ३५–४० लिटर दूध उत्पादन गर्दै आएका उनले प्रतिलिटर ६०–७० रुपैयाँ मूल्य पाउँछन् । गाउँमा डेरी उद्योग सञ्चालनमा आएपछि दूधको गुणस्तरीयता कम भएको भन्दै डेरी उद्योग र दूध संकलन केन्द्रले उचित मूल्य नदिएको बताए । ‘आज दूधको क्वालिटी छैन भनेर डेरी उद्योग र संकलन केन्द्रले मूल्य घटाइदिन्छन्,’ उनले भने, ‘कहिलेकाहीँ प्रतिलिटर ४५–५० रुपैयाँ मात्र दिन्छन् ।’ 

नरैनापुर गाउँपालिका–५, मटेहियाकै राजितराम यादवले दैनिक २० लिटर दूध बिक्री गर्छन् । उनले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्छ । तर, उनी दूधको मूल्यमा सन्तुष्ट छैनन् । प्रतिलिटर कम्तीमा ४५ रुपैयाँमा दूध बिक्री गर्दै आएको उनले बताए । उनले दैनिक सरदर दुई हजार रुपैयाँको दूध बिक्री गर्छन् । ‘डेरी उद्योग सञ्चालन भएपछि दूध बिक्री गर्न सजिलो भएको छ, तर उचित मूल्य पाउन सकिएको छैन,’ उनले भने । 

मटेहियाकी अनोखा यादव पनि डेरी उद्योगलाई दूध बेच्छिन् । उद्योगमा दूध पुर्याउन आएकी उनले बिहान र बेलुका गरी २० लिटर दूध बिक्री गर्दै आएको बताइन् । खेती किसानीसँगै भैँसीपालन गरेको बताउँदै उनले आफूले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य आफैँ तोक्न नपाएकोमा गुनासो गरिन् । ‘भैँसी पाल्न मेहनत र पैँसा खर्च हुन्छ, तर हामीले उत्पादन गरेको दूधको मूल्य हामीले निर्धारण गर्न पाउँदैनौँ । दूध पातलो भयो भनेर मूल्य घटाइदिन्छन्,’ उनले भनिन् । 

नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया र वडा नं. ६ गंगापुरका अधिकांश कृषकले भैँसी र गाई पालेका छन् । एउटा परिवारले कम्तीमा पाँचदेखि १० वटा भैँसी पाल्दै आएका छन् । परम्परागत रूपमा भैँसीपालन गर्दै आएका किसानहरूले राज्यले प्रदान गर्ने अनुदान पाएका छैनन् । ‘हामीलाई आधुनिक तरिकाले भैँसी पालन गर्न कसैले सिकाएको छैन । न त राज्यका निकायबाट अहिलेसम्म कुनै सेवा, सुविधा तथा अनुदान पाएका छौँ,’ किसान रामफेरनले भने, ‘बाजे, बराजुले जसरी पालन गर्नुहुन्थ्यो, अहिले पनि त्यसैगरी पालिरहेका छौँ ।’

यहाँका किसानले बिहानको खाना खाएर पायक पर्ने जंगल र खुला चौरमा भैँसी चराउन लैजान्छन् । दिनभर बाहिर चराएर बेलुकी गोठमा बाँध्छन् । ‘गोठमा बाँधिएका भैँसीलाई थोरै घाँस, पराल, भुस दिइन्छ । त्योभन्दा धेरै दिन सक्ने क्षमता हामीसँग छैन,’ किसान राजितराम यादवले भने, ‘परम्परागत तरिकाले पालन गर्दा पनि भैँसीले दूध राम्रो दिइरहेका छन् । तर बजार भाउ पाउन सकेका छैनौँ ।’  

दूध पकेट क्षेत्र घोषणा गर्न किसानको माग 
नरैनापुर गाउँपालिका वडा नं. ५ र ६ का अधिकांश किसानले पशुपालन गर्छन् । यी दुई वडामा दैनीक करिब एक हजार लिटर दूध उत्पादन हुन्छ । राज्यबाट कुनै अनुदान र सुविधा नपाएका यहाँका किसानले यी दुई वडालाई दूध पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । 

परम्परागत तरिकाले भैँसी तथा गाईपालन गर्दै आएका किसानलाई तालिम तथा अनुदान दिएर व्यवस्थित बनाउन आवश्यक रहेको मटेहियाका रामनिवास यादवले बताए । उनले यहाँका घर–घरमा गाई, भैँसी भए पनि राज्यको नजर पुग्न नसकेको बताए । उनले पुरानै विधिबाट पशुपालन गर्दा मेहनतअनुसार आम्दानी गर्न नसकेको बताए । ‘यहाँका किसानको मुख्य आयस्रोत पशुपालन हो, तर यहाँका किसानको पशु बिरामी भए उपचार गर्ने पशु स्वास्थ्यकर्मी नै छैनन् । पशु बिरामी भए भारत र नेपालगन्ज पुगेर औषधि किन्नुपर्ने बाध्यता छ,’ उनले भने । 

मटेहिया र गंगापुरका किसानले वडा कार्यालयमा पशु स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका छन् । पशु स्वास्थ्यकर्मी नहुँदा सामान्य रोगको औषधि किन्न भारतीय सीमावर्ती बजार जमुनाह जानुपर्ने बाध्यता रहेको मटेहियाका मायाराम यादवले सुनाए । गाउँपालिकाले पशु स्वास्थ्यकर्मीको व्यवस्था नगरेका कारण भारतीय पशु स्वास्थ्यकर्मीको भर पर्नुपरेको उनको गुनासो छ । ‘नेपालगन्जबाट पशु स्वास्थ्यकर्मी आउन मान्दैनन् । नजिकमा छैनन् । भारतीय पशु चिकित्सकको शरण पर्नुबाहेक अरू विकल्प हामीसँग छैन,’ उनले भने । 

पशुको बिमा गर्न माग
नरैनापुरका पशुपालक किसानले आफ्ना पशुको बिमा गराइदिन स्थानीय सरकारसँग माग गरेका छन् । बिमा नहुँदा धेरै क्षति ब्यहोर्नुपरेको स्थानीय रामधन यादवले बताए । उनले पशु स्वास्थ्यकर्मी नहुँदा पशुचौपायाले अकालमा ज्यान गुमाउने गरेको बताउँदै त्यसको असर सिंगो परिवारलाई पर्ने गरेको बताए । ‘बिमा भएको भए क्षतिपूर्ति पाइने थियो । यसले किसानलाई थोरै भए पनि राहत मिल्ने थियो,’ उनले भने, ‘पशुको बिमा नहुँदा किसान साह्रै मर्कामा छौँ ।’ 

कृत्रिम गर्भधारणको व्यवस्था गर्न माग 
नरैनापुर क्षेत्रमा पशु तथा चौपायाको कृत्रिम गर्भधारणको व्यवस्था गर्न सर्वसाधारण किसानले माग गरेका छन् । कृत्रिम गर्भधारणको व्यवस्था नहुँदा हाइव्रिड पशुचौपाया उत्पादन नभएको र जसले गर्दा दूध उत्पादन घट्दै गएको किसान जनक यादवले बताए । 
उनले पहिलेदेखि एउटै जातको भैँसीपालन गर्दा बच्चा ख्याउटे जन्मिने र त्यसले दूध कम दिन थालेको गुनासो गरे । ‘हाइब्रिड जातका राँगाको विर्य क्रस गराउन पाएको भए राम्रो जातको भैँसी जन्मिने थिए । र, दूध धेरै दिन्थे होला,’ उनले भने ।
 

सुझावित समाचार