हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले हङकङ–काठमाडौं उडानको तयारी थालेको छ । सातामा एक दिन हङकङबाट काठमाडौं उडान गर्न क्याथे प्यासिफिकले नेपाल उड्डयन प्राधिकरण (क्यान)सँग ‘स्लट’ मागेको हो ।
‘क्याथेले दिउँसोको स्लट मागेको थियो, हामीले दिउँसोको समय टाइट रहेको जानकारी गराउँदै राति उडान गर्न भनेका छौँ,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘हामीले राति आठ बजेपछिको मात्र स्लट दिन सक्छौँ, उहाँहरू सल्लाह गरेर आउने भन्नुभएको छ ।’ यो वायुसेवाले १ अक्टोबरदेखि १२ अक्टोबरसम्मका लागि स्लट मागेको थियो । एक महिनाको अवधिमा अकुपेन्सी ठीकठाक भए नियमित उडान गर्ने क्याथेको तयारी छ ।
कोभिडअघि हङकङबाट ड्रागन एयरले रातिमै काठमाडौं उडान गरिरहेको थियो । कोभिड महामारी रोकथामका लागि लकडाउन गरेपछि ड्रागनको नेपाल उडान रोकिएको थियो । अहिले क्याथे प्यासिफिकले हङकङ–काठमाडौं उडान गर्न लागेको हो । ड्रागनले रातिमै उडान गरेको हुँदा क्याथे प्यासिफिकले पनि रातिमै उडान गर्ने क्यानको भनाइ छ । क्याथेले पहिला पनि उडान गरिसकेको हुँदा उडान अनुमति लिइरहनुपर्दैन । तर, क्यानबाट स्लट भने अनिवार्य लिनुपर्ने हुन्छ ।