दाताबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको दुई लाख डोज खोप प्रयोग नै नभएर गयो खेर

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

चौथो लहरको जोखिम बढिरहेका वेला शनिबार एकै दिन साढे १७ करोड मूल्यबराबरका कोभिसिल्ड खोप ‘डेट एक्स्पायर’

पछिल्ला दिन निरन्तर बढिरहेको कोरोना संक्रमणले चौथो लहरको जोखिम बढाएको छ । तर, सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा यही वेला साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खेर गएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको विभागले जनाएको छ । महाशाखा निर्देशक डा. रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुन सक्ने बताए । ‘शनिबारदेखि म्याद सकिएर कम्तीमा दुई लाख मात्रा कोभिसिल्ड खेर गएको हाम्रो अनुमान छ । योभन्दा बढी नै पनि हुन सक्छ,’ उनले भने, ‘उक्त खोप केन्द्रीय भण्डारण स्टोरमा खेर गएको होइन, जिल्ला–जिल्लामा वितरण भएको खोप हो । विभागले देशभरबाट विवरण माग गरेको छ ।’ 

विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ । तथ्यांकअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । त्यस्तै, प्रदेश १ मा ११ हजार, हेटौँडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार चार सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकामा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए । 

म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा आएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसार सम्बन्धित देशले खरिद गरेर अनुदानमा दिएकाले ती देशले हरेक वर्ष नेपाललाई गर्ने सहयोगमा उक्त रकम जोड्ने गर्छन् । 

सरकारले तेस्रो डोज लगाउनसमेत अनुरोध गरे पनि खोपप्रति उत्साहजनक आकर्षण देखिएको छैन । विगतमा दैनिक पाँच लाखसम्मले खोप लगाएकामा अहिले ५० हजारदेखि एक लाखसम्मले मात्रै लगाउने गरेका छन् । त्यसमा पनि खोप अभियान निरन्तर चलेको छैन । शनिबार ५८ हजार पाँच सय ५९ जनाले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान प्रभावकारी बनाउन नसक्नु र सर्वसाधारणमा उत्साह नदेखिनुले ठूलो मात्रामा खेर गएको अधिकारहरू बताउँछन् । 

विभागका अनुसार अब केन्द्रमा कोभिसिल्ड खोप छैन । तर, भएका अन्य खोपको म्याद भने धेरै रहेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए । ‘लगाउने मानिसहरू कम उपस्थित भएका कारण खोप खेर गएको छ,’ उनले भने, ‘बीचमा संक्रमण घटेपछि सबैले खोपलाई बेवास्ता गरे । कोरोना सकियो भन्दै खोप लगाउन चासो नदिएपछि खेर गएको हो । महामारीमा खोप खेर जानु दुःखद हो । खोपको महत्वप्रति नागरिक तहमा प्रचारप्रसार आवश्यक देखिएको छ ।’

साढे तीन महिनाअघि काठमाडौं स्वास्थ्य कार्यालयमै बिग्रिएको थियो तीन हजार डोज मोडर्ना
गत चैतमा काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज खोप बिग्रिएको थियो । आवश्यक तापक्रम मिलाइएको भण्डारणबाट निकालेर निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा उक्त खोप खेर गएको थियो । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । त्यहाँबाट निकालेपछि ३० दिनसम्म दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । तर, ३१ दिनपछि उक्त खोपको आयु सकिन्छ ।

खोप कति आयो, कति सकियो ?

हालसम्म खरिद र अनुदानको गरी पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये चार करोड ९३ लाख ६६ हजार पाँच सय एक मात्रा प्रयोगमा आएको छ । हाल ७१ लाख ७८ हजार ८१८ डोज बाँकी छ । यसले २३ लाख ४६ हजार ६५१ मात्रा खोप प्रयोग गर्ने क्रममा र प्रयोग गर्न नसकेर खेर गएको हिसाब आउँछ । तथ्यांकअनुसार हाल भेरोसेल ४४ लाख ७५६, जोनसन एक लाख २६ हजार १३०, फाइजर ६ लाख ९२ हजार ५०२ र फाइजर पेडियाट्रिक १८ लाख ९९ हजार ४३० मात्रा बाँकी छ । 

कतिले लगाए खोप ?

केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । सरकारले दुई करोड ३३ लाख २७ हजार ६१९ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । यीमध्ये दुई करोड पाँच लाख ७७ हजार १९६ जना अर्थात् ८८.२%ले पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल जनसंख्याको ७०.५% हो । त्यस्तै, दुई करोड १५ लाख ३० हजार ६७६ जना अर्थात् ९२.३% ले पहिलो मात्रा लगाएका छन् । यो कुल जनसंख्याको ७३.८% हो । ७२ लाख ५८ हजार ५२९ जनाले तेस्रो मात्रासमेत लगाएका छन् । 

३३ संक्रमित आइसियू र चारजना भेन्टिलेटरमा उपचाररत

पुनः संक्रमणबाट दीर्घरोगको समस्या
दैनिक संक्रमणदर बढेसँगै उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि बढ्न थालेको छ । हाल अस्पतालमा उपचाररत एक सय ५१ सक्रिय संक्रमितमध्ये ३३ जना आइसियू र चारजना भेन्टिलेटरमा उपचारत छन् । गम्भीर बिरामी भएर अस्पताल पुगेकामध्ये २८ जना काठमाडौंमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै वीरेन्द्र अस्पताल छाउनीमा १२, वीर अस्पतालमा १०, शुक्रराज ट्रपिकल अस्पतालमा पाँच र पाटन अस्पतालमा दुईजना छन् । यसबाहेक अस्पतालमा उपचाररत रहेका एक सय ५१ संक्रमितमध्ये एक सय २१ जना काठमाडौं उपत्यकामा छन् । जसमध्ये ४४ जना जनरलमा, ४४ जना एचडियूमा, २९ जना आइसियू र चारजना भेन्टिलेटरमा उपचाररत छन् । दैनिक संक्रमणदर पनि उपत्यकामै अत्यधिक भएको र हालसम्म ग्रामीण भेगमा नफैलिएकाले डराउनुपर्ने अवस्था रहेको चिकित्सकहरूले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ६९ पुगेको छ । पुनः संक्रमणको दर बढ्दै जाँदा दीर्घरोगका समस्यासमेत जटिल बन्दै गएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्रोफेसरहरूको प्यानलले गरेको सर्वेक्षणले कोभिडको संक्रमण बारम्बार हुँदा अन्य दीर्घकालीन स्वास्थ्य समस्याले आयु घटाइरहेको जनाएको छ । २०२२ जुनसम्म ५.६ मिलियन संक्रमितको क्लिनिकल रिपोर्टहरूका आधारमा गरिएको सर्वेक्षणले मुटुरोग, रगत, मस्तिष्क विकारहरू, मधुमेह, दीर्घकालीन थकान र लामो कोभिडजस्ता रोग दीर्घकालीन बढिरहेको हो ।

See More On

सुझावित समाचार