चक्कु प्रहार गरी पाँच लाख लुटपाट भएको भनिएकाे घटना बनावटी

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

शुक्रबार बेलुका महोत्तरीको गौशाला नगरपालिका– २, सम्सी गौशाला सडक खण्डस्थित रेडक्रस भवन नजिकै चक्कु प्रहार गरेर लुटपाट गरिएको घटना बनावटी रहेको प्रहरीले जनाएको छ । घटना भएको सूचना पाएलगतै प्रहरीले थालेको अनुसन्धानमा पीडित भनिएका व्यक्ति आफैँले बनावटी कथा बुनेको प्रहरी अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।

आफ्नै भाइले खातामा पैसा जम्मा गर्न दिएको पाँच लाख रुपैयाँ फिर्ता गर्न नपरोस् भन्ने बदनियतले पीडित भनिएका व्यक्तिले चक्कु हानेर लुटपाट गरेको घटना रचेको प्रहरी निरीक्षक मिश्रले बताए ।

रामगोपालपुर नगरपालिका–७, सहसौलानिवासी अरुणकुमार चौधरीले प्रहरी अनुसन्धानको क्रममा आफूलाई कसैले चक्कु नहानेको र पैसासमेत नलुटिएको बताएका छन् । उनले धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न आफूसँग पैसा अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेको प्रहरी निरीक्षक मिश्रले बताए । 

अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको झोलासमेत घटनास्थल नजिकैबाट फेला पारेको  छ । प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँले कोतरेर घाउ बनाएको बयान दिएको प्रहरीले जनाएको छ ।  चौधरीले मनी ट्रान्सफरका सञ्चालकसमेत हुन् । 

सुझावित समाचार