आयात प्रतिबन्धप्रति मदिरा पैठारी संघको विरोध

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध ४५ दिनका लागि थपेकोमा ‘नेपाल मदिरा पैठारी संघले विरोध गरेको छ । संघले आयातीत मदिराजन्य पदार्थहरूमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकूल प्रभाव पार्ने भन्दै विरोध गरेको हो ।

बोतलबन्द आयातीत मदिराजन्य पदार्थहरूमा वार्षिक लगभग एक करोड २० लाख अमेरिकी डलर मात्र बिदेसिने संघको भनाइ छ । करिब डेढ अर्ब रुपैयाँ मात्र भनेको वार्षिक बाहिरिने विदेशी मुद्राको शून्य दशमलव १० प्रतिशत मात्र रहेको संघले जनाएको छ । सरकारले बोतलबन्द आयातीत मदिराजन्य पदार्थहरूबाट वार्षिक लगभग तीन अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त गर्ने र यो बिदेसिएको मुद्राको दुई गुणा भएको संघको दाबी छ । 

आयात प्रतिबन्धले बजारमा विदेशी मदिरा उपलब्धताको कमीले बजारमा केही अन्तर्राष्ट्रिय ब्रान्डहरूको नक्कली सामान देखिन थालिसकेको संघको आरोप छ । यसले नेपाली समाजमा व्यापक रूपमा जनस्थास्थ्यमा प्रतिकूल असर पार्न सक्ने संघले विज्ञप्तिमा जनाएको छ । नेपालमा उच्च भन्सार शुल्क र अन्तःशुल्कका कारण यसको अधिकतम मूल्य नेपालमा र भारतीय बजारमा ठूलो अन्तर भइसकेको जनाइएको छ । जसको कारण भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारिबाट माग बढी हुने विदेशी ब्रान्डहरूको तस्करी हुन थालिसकेको जनाइएको छ । 

विदेशी मदिरा अभावमा होटेल, रेस्टुरेन्ट र बारहरूले ठूलो आय आर्जनको क्षमता गुमाउन थालिसकेकाले उनीहरूको दिगोपना र बेरोजगारी समस्या पनि बढ्ने संघको भनाइ छ । साथै, पर्यटनमा नकारात्मक असर पारेको जनाइएको छ । ठूलो संख्यामा नेपाल आउने भारतीय पर्यटकहरूले अन्तर्राष्ट्रिय ब्रान्डहरू उपभोग गरिरहेकाले विदेशी मुद्रा आर्जन पनि भइरहेको संघले दाबी गरेको छ । नेपाल मदिरा पैठारी संघले नेपालमा अन्तर्राष्ट्रिय बियर, वाइन र स्पिरिट ब्रान्डहरू आयात गर्ने आफ्ना सदस्यहरूलाई प्रतिनिधित्व गर्ने जनाइएको छ । 

See More On

सुझावित समाचार