टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन इभी नेपाली बजारमा बिक्री सुरु गरेको एक वर्ष पूरा गरेको छ । नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यका साथ सिप्रदीले भारतीय गाडी निर्माता टाटा मोटर्सले उत्पादन गरेको नेक्सन इभी नेपालमा ल्याएको हो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ । देशको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको कम्पनीको दाबी छ ।
यो सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि रहेको कम्पनीको भनाइ छ । त्यस्तै, द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षा यसको विशेषता रहेको कम्पनीले दाबी गरेको छ । ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैका लागि चार्जिङ स्टेसनको बृहत् सञ्जाल एवं अत्याधुनिक सुविधासम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीको जिकिर छ ।
यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चार्जिङ एप ‘इजी’मार्फत चार्ज गर्न सकिने उल्लेख छ । यो एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारहरूले गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले दक्ष कर्मचारी एवं भौतिक संसाधनहरूको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकका घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको जनाइएको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सञ्जाल रहेको तथा हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्टजस्ता सार्वजनिक स्थानमा १२० भन्दा बढी एसी चार्जरहरू जडान गरेको छ ।