प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेल अगाडि बढाउने केन्द्रीय समिति निर्णयको आफूअनुकूल व्याख्या गर्दै दूवै समूह दबाबमूलक गतिविधिमा, अधिकतम सिट आफ्नो पक्षमा पार्ने दुवै समूहको रणनीति
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने केन्द्रीय समितिको निर्णयपछि कांग्रेसमा संस्थापन र इतर समूहले आफूअनुकूलको व्याख्या गर्दै दबाबमूलक गतिविधि बढाएका छन् । एक–अर्कामाथि दबाब बनाउने र अधिकतम सिट आफ्नो पक्षमा पार्ने दुवै समूहका रणनीति छन् ।
गत २ साउनमा केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह निर्वाचन परिणाम सन्तोषजनक मान्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेल अगाडि बढाउने निर्णय गरेपछि कांग्रेसका दुवै समूह नयाँ रणनीतिसहित अगाडि बढेका हुन् । नेताहरूका अनुसार आगामी निर्वाचनमा आफ्नो समूहको उपस्थिति बलियो बनाउन दुवै समूहले आ–आफ्नो स्वार्थअनुकूलका व्याख्या सुरु गरेका हुन् ।
संस्थापनइतर समूहले निर्वाचनमा आफूलाई सम्मानजनक टिकट वितरण हुनुपर्ने भन्दै दबाब दिन थालेको छ । इतरले गठबन्धन गरेर जाँदा सभापति देउवाले एकपक्षीय रूपमा टिकट वितरण गर्ने र गठबन्धन दललाई प्राथमिकतामा राख्ने देखेपछि निर्वाचन घोषणाअगावै यस्तो रणनीति लिएको हो । इतर समूहका नेताहरू वस्तुस्थिति बुझ्न सोमबारदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा गएका छन् ।
इतरको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा पाएको हैसियतका आधारमा गठबन्धनका दलबीच सिटको तालमेल हुनुपर्ने र पाँच वर्ष कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने सर्त सारेका छन् । बुधबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कांग्रेसलाई कम क्षति हुने सर्तमा मात्रै तालमेल हुनुपर्ने बताएका छन् ।
‘स्थानीय निर्वाचनमा अधिकतम मत कांग्रेसले नै पाएको छ । त्यहीअनुसार गठबन्धनका दलबीच सिटको तालमेल हुनुपर्छ । पहिलो आर्थिक–सामाजिक रूपान्तरणबारे एउटै धारणा हुनुपर्छ, दोस्रो वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्छ र तेस्रो पाँच वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्छ,’ उनले भने, ‘पार्टीमा गुट हुन्छन्, त्यो स्वाभाविक नै हो । गुट विचार हो, यसलाई अन्यथा लिनुहुँदैन, तर जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यसवेला भने सबै गुट एक हुनुपर्छ । त्यसवेला गुट–उपगुटमा लाग्नुहुँदैन । निर्वाचनमा कांग्रेस नेतृत्वले तेरो–मेरो नगरी योग्य उम्मेदवारलाई टिकट दिनुपर्छ ।’ गत २७ असारमा केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले स्थानीय तह निर्वाचनमा तालमेलबारे सूक्ष्म रूपमा समीक्षा गरेर मात्रै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने मत राखेका थिए । उनले निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।
संस्थापन समूहले भने कांग्रेसको बहुमत रहने र कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने गरी गठबन्धन दलसँग टिकट वितरणका लागि आन्तरिक रूपमा गठबन्धन दलसँग छलफल गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक पदाधिकारीका अनुसार यसका लागि उपसभापति पूर्णबहादुर खड्का र रामचन्द्र पौडेलले छलफल गरिरहेका छन् । ‘हाम्रो स्वार्थ कांग्रेसको पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड गर्ने र कांग्रेसकै नेतृत्वमा सरकार बनाउने भन्ने हो । औपचारिक रूपमा ‘गिभ एन्ड टेक’मा छलफल नभए पनि अनौपचारिक रूपमा छलफल भइरहेका छन्,’ ती पदाधिकारीले भने, ‘हामीले ६०–४० को अनुपातमा सिट बाँडफाँड चाहेका छौँ । सिट बाँडफाँडमा पार्टीमा सम्मानजनक अवस्था हुनेछ ।’
संस्थापननिकट सहमहामन्त्री किशोरसिंह राठौरले तालमेलको मोडालिटीबारे छलफल भइरहेको बताए । ‘स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको हो । अबको तालमेलको निर्णय पनि कांग्रेसलाई पहिलो बनाउने ‘डिजाइन’अनुसार नै भएको छ । गठबन्धन गरेर जाने पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । अहिलेसम्म एक्लाएक्लै निर्वाचनमा जाने या सँगै जाने भन्ने दलहरूबीच टुंगो लागिसकेको छैन,’ उनले भने, ‘हामी एक्लै वा तालमेल जुनसुकै अवस्थामा निर्वाचनका लागि तयार छौँ । प्रजातान्त्रिक पार्टीमा टिकट वितरण न्यायोचित हुनुपर्छ भन्नु अन्यथा होइन । पार्टीले न्यायोचित रूपमा टिकट वितरण गर्नेछ ।’
इतरले आफ्नो समूह देशव्यापी दबाब कार्यक्रममा जुटिसकेको बताएको छ । इतर समूहका नेता डा. चन्द्र भण्डारीले सम्मानजनक टिकट वितरण र भ्रातृ संंस्थामा सम्मानजनक उपस्थितिका लागि दबाब दिन लागिएको बताए । ‘अरू पार्टीलाई टिकट दिन तयार हुने, तर आफ्नै पार्टीभित्र सम्मानजनक टिकट वितरण नगर्ने अवस्थाको विरुद्ध ‘रचनात्मक विद्रोह’को तयारीमा छौँ,’ उनले भने, ‘सीमितले मात्रै अवसर पाउने अवस्था छ । लामो योगदान गरेका कार्यकर्ताले पार्टीमा अवसर पाउने अवस्था छैन । स्थानीय तह निर्वाचनका समयमा पनि पार्टीभित्रै न्यायोचित रूपमा टिकट वितरण गरिएन ।’
‘स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्तागठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने,’ कांग्रेसको निर्णयमा छ ।
गत १७ असारमा गौशालामा बसेको इतर समूहको भेलाले स्थानीय निर्वाचनको टिकट वितरणमा आफ्नो समूहलाई बेवास्ता गरिएको निष्कर्षसहित प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको भूमिकामाथि प्रश्न उठाएको थियो । केन्द्रीय समिति बैठकमा आफ्ना एजेन्डा सशक्त रूपमा राख्न असार २५ र २६ मा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङसहितका पदाधिकारी र नेताको गौशालास्थित अनुपम फुडल्यान्डमा भेला भएको थियो । भेलाले नेतृत्वविरुद्ध दबाबको राजनीति सुरु गर्ने निर्णय गरेको थियो ।