एसइई नतिजा : विद्यालयले मूल्यांकन गर्दा जिपिए ४ ल्याउने नौ हजार, बोर्डले परीक्षा लिँदा ४२ मात्रै

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा देशभरबाट ४२ जनाले मात्रै जिपिए ४.० ल्याएका छन् । कोभिड– १९ महामारीका वेला ०७६ र ०७७ मा विद्यालयले नै आन्तरिक मूल्यांकन गर्दा क्रमशः नौ हजार ३१९ र आठ हजार चार सय ४४ ले ४.० जिपिए ल्याएका थिए । राष्ट्रिय परीक्षा बोर्डले लिएको ०७८ को परीक्षामा मात्रै होइन, कोभिडअघिका वर्ष ०७५ र ०७४ मा पनि जिपिए ४.० ल्याउने परीक्षार्थी कम थिए । ती वर्ष क्रमशः एक सय ६ र ७४ ले मात्रै जिपिए ४.० ल्याएका थिए । 

कोभिड कालका दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीलाई मनपरी नम्बर दिएको आरोप लागेकोमा अहिलेको नतिजाले पुष्टि गरेको विज्ञहरू बताउँछन् । 

तर, बोर्ड अध्यक्ष महाश्रम शर्मा नतिजा सन्तोषजनक रहेको दाबी गर्छन् । ‘०७८ को नतिजासँग ०७६ र ०७७ को नतिजा तुलना गर्न मिल्दैन, ०७५ र ०७८ लाई हेर्दा सन्तोषजनक छ,’ उनले तर्क गरे । शिक्षासचिव तथा बोर्डका उपाध्यक्ष रामकृष्ण सुवेदी पनि कोभिडको समस्या पूरै नहटेको र सबै परिस्थिति ठीक नभएको अवस्थामा अहिलेको नतिजा राम्रो भएको दाबी गर्छन् ।

०७८ को एसइईमा कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये २२ हजार ६ सय ४० अनुपस्थित भएको बोर्डले जनाएको छ । परीक्षा दिएकामध्ये जिपिए ३.६ देखि ४.० ल्याउने नौ हजार ६ सय ३३ छन् । यसमा छात्र पाँच हजार दुई सय ८१ र छात्रा चार हजार तीन सय ५२ छन् । 

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल अहिलेको नतिजालाई सबै परिस्थितिको परावर्तनका रूपमा लिन्छन् । ‘एसइईलाई गुणस्तरको कडी मान्नु नै समस्याग्रस्त विषय हो । परीक्षामा प्रक्रिया, विधि र साधन ठीक हुनुपर्‍यो । अहिले कोभिडको असरले सिकाइ उपलब्धि उत्साहजनक छैन । सिकाइ कम भएपछि रिजल्ट पनि कमजोर आउँछ । अहिलेको अवस्थामा एसइईमा अलिकति कमजोर देखिनु स्वाभाविक हो,’ उनले भने, ‘सबै पक्षलाई हेर्दा सिकाइमा समस्या छ । विद्यालयमा गुणस्तरयुक्त सिकाइ प्रणाली हुन सकेको छैन । यो नतिजा सबैको रिफ्लेक्सन हो ।’ 

राष्ट्रिय परीक्षा बोर्डले ०७८ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा गरेको छ । शिक्षा मन्त्रालयले गत पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो । तर, केही दिनअघि निर्देशिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले एकरूपता कायम गर्न पुरानै प्रणालीअनुसार लागू गर्न सक्ने व्यवस्था गरिएको थियो । मंगलबार बसेको बोर्ड बैठकले त्यहीअनुसार निर्णय गरेर बुधबार नतिजा सार्वजनिक गरिएको हो । 

एसइईको नतिजा आएका र कक्षा १० मा पढिरहेका विद्यार्थीका लागि पुरानो पाठ्यक्रमअनुसार पठनपाठन हुने भएकाले एकरूपता कायम गर्न निर्देशिका नै संशोधन गरिएको हो । अहिले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थी नै पुरानो पाठ्यक्रमअनुसारको अन्तिम ब्याच हो । नयाँ लेटर ग्रेडिङअनुसार ३५ अंकभन्दा कम ल्याउनेलाई नन–ग्रेडमा राख्ने व्यवस्था छ । ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने निर्देशिकामा उल्लेख छ । कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको थियो ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल भन्छन्– यो नतिजा सबै परिस्थितिको परावर्तन हो
एसइईलाई गुणस्तरको कडी मान्नु समस्याग्रस्त विषय हो । परीक्षामा प्रक्रिया, विधि र साधन ठीक हुनुप¥यो । सिकाइ उपलब्धि उत्साहजनक छैन । सिकाइ कम भएपछि रिजल्ट कमजोर आउनु स्वाभाविक हो । गुणस्तरीय सिकाइ हुन सकेको छैन ।

भवन छ, शिक्षक छन्, तर उनीहरू कति समय सिकाइमा बिताउँछन् भन्ने रहस्यमै छ । गुणस्तरका लागि कसले के गर्ने भन्ने महत्वपूर्ण हुन्छ । नेपालमा भवन निर्माणका विषयमा धेरै छलफल हुन्छ, तर सिकाइ सुधारका लागि छलफल कम छ ।

सिकाइ कमजोर हुनुमा शिक्षक उत्पादन गर्ने थलोमै समस्या छ । एसइईको नतिजा यी सबैको रिफ्लेक्सन हो । 

सबैभन्दा कमजोर नतिजा गणितमा, ई ग्रेड आउने झन्डै दुई लाख 
कुल चार लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये एक लाख ८८ हजार ९४ को गणितमा ई ग्रेड आएको छ । डी ग्रेड ल्याउने ५९ हजार १४७ छन् । डी र ई ग्रेड ल्याउने दुई लाख ४७ हजार २४१ छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुन्छ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् । 

कम्प्युटर साइन्समा सबैभन्दा धेरै २६ हजारले ल्याए ए प्लस
ऐच्छिक विषय कम्प्युटर साइन्समा सबैभन्दा धेरै २५ हजार ८४० परीक्षार्थीले ए प्लस ल्याएका छन् । अनिवार्य अंग्रेजीमा १५ हजार ३९९ र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा १३ हजार ९८९ विद्यार्थीले ए प्लस ल्याएका छन् । त्यसैगरी ऐच्छिक विषय अफिस म्यानेजमेन्ट र एकाउन्टमा ११ हजार ६३१, ऐच्छिक गणितमा १० हजार ९४४, साइन्समा आठ हजार ६५८ ले ए प्लस ल्याएका छन् । साधारणतर्फका अनिवार्य विषयमध्ये नेपालीमा सबैभन्दा कम एक हजार आठ सय चारजनाले मात्र ए प्लस ल्याएका छन् । 

संस्कृततर्फको नतिजा कमजोर, ए प्लस ल्याउनै मुस्किल
अनिवार्य संस्कृत भाषा र फलित ज्योतिषमा कुनै पनि विद्यार्थीले ए प्लस ल्याउन सकेनन् । संस्कृत भाषामा सातजनाले ए ग्रेड ल्याएका छन् । तर, फलित ज्योतिषमा बी प्लससम्म पनि कसैले ल्याएनन् । संस्कृततर्फका परीक्षार्थीको संख्या नै कम थियो ।  

उच्च जिपिए ल्याउने बागमतीमा धेरै, कर्णालीमा कम 
उच्च जिपिए ल्याउनेमा संख्यात्मक रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । ३.६ देखि ४.० जिपिएलाई उच्च मानिन्छ । बागमतीमा चार हजार ६०२ र कर्णालीमा ११४ को यो नतिजा आएको छ । प्रदेश १ मा उच्च जिपिए ल्याउने एक हजार १८७, गण्डकीमा १८४, लुम्बिनीमा एक हजार २२०, सुदूरपश्चिममा १९५ गरी नौ हजार ६३३ छन् । 

See More On

सुझावित समाचार