दाजु–भाउजूको निर्देशनमा भाइ–बुहारीको हत्या

एक लाख रुपैयाँ सुपारी दिएर भारतबाट ल्याइएको थियो हत्यारा

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण
दाजु–भाउजूको निर्देशनमा भाइ–बुहारीको हत्या

तालिम प्राप्त कुकुरकाे सहायतामा घटनास्थलकाे अनुसन्धान गर्दै प्रहरी

बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । 

अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेपछि हत्याको योजना खुलेको हो । प्रहरीले हत्याको अभियोगमा विजयकुमार गडरियालाई पक्राउ गरेको छ । अनुसन्धानबाट दाजु र भाउजूको निर्देशनमा भारतीय सुटरले भाइ–बुहारीको हत्या गरेको खुलेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

पक्राउ परेका विजयले भाइ–बुहारीको हत्या गर्न भारतीय नागरिकलाई सुपारी दिएको बयान प्रहरीसमक्ष दिएको एसपी अधिकारीले बताए । ‘दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य खुलेको छ,’ एसपी अधिकारीले भने ।

आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको उनले बताए । उनले घटनामा चारजनाको संलग्नता देखिएको बताए । श्रीमतीको हत्या गरेपछि कृष्णले प्रतिवाद गर्दा उनको पनि हत्या गरेको हुनुपर्छ,’ एसपी अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ । भाइलाई हातको नसा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’

कृष्णको परिवार बस्ने गरेको घरकै माथिल्लो तलामा दाजु–भाउजू बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुबाआमा घरमा नभएको मौका छोपी दाजुले भारतबाट मान्छे बोलाएर मार्न लगाएको बताए । ‘भारतका दुईजना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ–बुहारीको हत्या गर्न लगाएको खुलेको छ,’ मल्लले भने । 
कृष्ण र अञ्जलीको विवाह एक वर्ष पहिले मात्रै भएको थियो । 

सुझावित समाचार