५४ अंकले बढ्यो नेप्से चार अर्बभन्दा बढीको कारोबार

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

नेप्से परिसूचक सोमबार ५४ अंकले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ इन्डेक्स नौ दशमलव शून्य पाँच अंकले बढेर चार सय सात दशमलव ३८ बिन्दुमा पुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको दोस्रो दिन सेयर बजार दोस्रो ठूलो अंकले बढेको हो । अघिल्लो दिन आइतबार नेप्से ६१ अंकले वृद्धि भएको थियो ।

मौद्रिक नीतिमा लगानीकर्ताले उठाउँदै आएको ४–१२ करोडको सेयर धितो कर्जा बढाएर १२ करोड पुर्‍याएसँगै लगानीकर्ता सकारात्मक बनेका हुन् । अर्कोतर्फ नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरूले साधारणसभा बोलाउने र बोनस सेयर घोषणा गर्ने समय पनि नजिकिन थालेको छ । बजार निकै लामो करेक्सन खेपेर आएकाले पनि यतिवेला मौद्रिक नीति बजार बढाउने टेवा बन्दा लगानीकर्ता बजारप्रति मनोवैज्ञानिक रूपमा सकारात्मक छन् ।

सोमबार नेप्सेले दुई हजार बिन्दुको परीक्षणलाई पार गरेको छ । दुई हजार अंकको मनोवैज्ञानिक बिन्दु बनाइरहेको नेप्सले सो दिन दुई हजार एक सयको टेवा परीक्षण गरेको हो । नेप्से सूचक उच्च अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम बढेको लगानीकर्ताको दाबी छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १४ कम्पनीको करिब एक करोड कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार शिवम् सिमेन्टको १५ करोड २९ लाख रुपैयाँको भएको छ ।  सोमबार आठवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उच्च अंकले बजार घटे पनि अधिकांश ऋणपत्रको मूल्य घटेको छ ।

See More On

सुझावित समाचार