नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गरिएकामा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीभित्र र राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको बताए ।
दलहरूमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको आरोप छ । ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नुअघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त । आफ्नो पार्टीमा पनि राखेँ । राष्ट्रिय सभामा पनि बोलेँ। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ त,’ उनले भने, ‘यस सम्बन्धमा विचारको समस्या होइन । वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थहरूबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौती बढेको हो । र, खतरा पैदा भएको हो ।’
दलहरूले तत्कालीक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको उनको भनाइ थियो ।