लमजुङमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ । जिल्ला अदालत लमजुङको तथ्यांकअनुसार आव ०७८/७९ मा मात्रै तीन सय ३२ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । अदालतमा आएका मुद्दामध्ये अंशबन्डा र लेनदेनमा भन्दा सम्बन्धविच्छेदका घटना तीनगुणा बढी देखिन्छ ।
गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।
न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेदको हुने गरेको बताए ।ञ सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।
कानुनी प्रावधान नजानेका किशोर–किशोरीले आफ्नै खुसीले विवाह गर्ने र वर्षदिन नबित्दै सम्बन्धविच्छेद गर्ने क्रम बढेको जिल्ला बार एसोसिएसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । बाबु–आमाले गर्ने सम्बन्धविच्छेदको प्रत्यक्ष असर नाबालक छोराछोरीलाई पर्न गई उनीहरूको भविष्यसमेत अनिश्चित हुने बेँसीसहरकी महिला अधिकारकर्मी कमला केसीले बताइन् ।
किन बढ्छ सम्बन्धविच्छेद ?
आपसमा विश्वासको वातावरण बनाउन नसक्दा धेरै जोडी टुट्ने गरेको अदालतका स्रेस्तेदार उदयराज काफ्लेको बुझाइ छ । अहिलेसम्मको घटनाको प्रकृतिअनुसार सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, देखासिकीजस्ता कारण देखिएको छ । उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
पारिवारिक समस्या भएका कतिपय दम्पती अदालतमा गएर सम्बन्धविच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन् । सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्धविच्छेद नै गर्न चाहनेहरूलाई अदालत पठाउने गरेको प्रहरीको भनाइ छ ।