उत्तरी गोरखाको दुर्गम गाउँपालिका चुमनुब्रीमा हेलिकोप्टर उडान प्रक्रिया ढिला हुँदा एकजना बिरामीको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी २१ वर्षीया मिङमा छेन्जोम लामाको मृत्यु भएको वडाध्यक्ष सरोज लामाले बताए ।
‘हेली उडानका लागि प्रशासनबाट बिहान ८ बजे नै अनुमति दिएको रहेछ । तर, कागजपत्र मिलाउँदै गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण कता–कता धाउँदा–धाउँदै ढिलाइ भयो । यहाँ बिरामी १ बजे नै मृत्यु भइसकेको थियो, हेली उडानका लागि २ बजे मात्र अनुमति पाइयोे,’ उनले भने । यहाँका गरिब जनताले बल्लतल्ल पैसा उठाएर झन्झटिलो प्रक्रिया पूरा गरी हेली उडानको अनुमति पाए पनि उपचार गर्न नपाएको उनको दुखेसो छ । सडक सञ्जालले नछोएको यस हिमाली गाउँमा प्राथमिक उपचार मात्रै उपलब्ध छ । त्यसैले प्रसूति तथा गम्भीर बिरामीलाई उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजानुको विकल्प नरहेको वडाध्यक्ष लामाले बताए ।
‘हिजो बेलुका अचानक बिरामी भएकी रहिछिन्, उनको मुटु दुख्ने व्यथा रहेछ,’ लामाले भने, ‘के भयो भनेर चेक गर्नका लागि यहाँ राम्रो स्वास्थ्य संस्था छैन, प्राथमिक उपचार मात्र छ ।’
उद्धारमा खटिएका दावा ग्याल्जेन लामाका अनुसार बिहानैदेखि सिम्रिक एयरको हेलिकोप्टर उडानका लागि तयारी अवस्थामा राखिएको थियो । ‘बल्लतल्ल २ बजेतिर हेली उडानका लागि अनुमति त पाइयो । तर, यी सबै प्रक्रिया पूरा हुँदासम्म मान्छे नै रहेन भन्ने खबर आयो,’ उनले भने । बिरामीको धरौटीबापतको १९ हजार रुपैयाँ पनि गुमेको उनले बताए ।प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रशासनबाट बिहानै हेलिकोप्टर उडानको अनुमति दिइएको बताए । ‘सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान र विपत्मा परेका व्यक्तिको उद्धारमा गृह मन्त्रालयले सेनाको हेली उडान गर्दै आएको छ । अन्य बिरामीले आफैँ हेली उडानको खर्च व्यहोर्नुपर्ने हुन्छ । जुन कम्पनीले उडान गर्ने हो उनीहरूले नै गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ । आजको केसमा उनीहरूबीच समन्वयमा ढिलाइ भएको हुन सक्छ,’ उनले भने । नागरिक बचाउने कर्तव्य पहिलो भएकाले हेली उडान अनुमतिका लागि गृह मन्त्रालयमा मौखिक जानकारी दिइएको उनले बताए ।
झन्झटिलो प्रक्रियाका कारण पकट–पटक यस प्रकारका समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । स्थानीयको माग सम्बोधन गर्दै गाउँपालिकामा निर्वाध ढंगले हेलिकोप्टर उडाउन दिइनुपर्ने उनले बताए ।
यसअघि चुमनुब्रीमा सजिलोसँग हेलिकोप्टर उडाउन पाइन्थ्यो । तर, चीनसँग सिमाना जोडिएको यस गाउँपालिका हुँदै व्यापारीले सुनलगायत विभिन्न वस्तु तस्कर गर्ने गरेको आरोप लागेपछि सरकारले यहाँ अनुमतिविना हेली उडाउन निषेध गर्यो । त्यसयता, गाउँपालिकाभित्रका चुम्चेत, सामागाउँ, छेकम्पारलगायत अधिकांश क्षेत्रमा हेली उडानको प्रक्रिया पुर्याउने क्रममा देखिने झन्झट र ढिलाइका कारण घाइते, बिरामी, सुत्केरी महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । सरकारले हेली उडानका लागि सहज व्यवस्था गरेमा बिरामी, घाइतेको उद्धार कार्य छिटो हुन सक्ने स्थानीय बताउँछन् ।
गोमादेवी चेम्जोङ, उपसचिव, गृह मन्त्रालय, सीमा तथा अध्यागमन शाखा
हामीले जानकारी पाउनेबित्तिकै सहमति पठाएका छौँ । बिहान सिस्टममा समस्या भएकाले ‘इमेल रिसिभ’ हुन ढिलाइ भएको हुन सक्छ । तर, घटनाको जानकारी पाउनेबित्तिकै एयरलाइन्स, जिल्ला, सुरक्षा निकाय र नागरिक उड्डयन प्राधिकरणलाई सहमति दिएका छौँ । १०ः५१ मा हामीलाई आग्रह आएको थियो, ११ः५१ मा सहमति दिएका छौँ । ‘रेस्क्यु’का हकमा मन्त्रालयले ढिला गर्दैन ।
ज्ञानेन्द्र भुल, सूचना अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण
निषेधित क्षेत्रमा हेलिकोप्टर उडानको अनुमति प्राधिकरणले दिन्छ । गृह मन्त्रालयबाट सहमति आएपछि प्राधिकरणले अनुमति दिने हो । आपत्कालीन उडानका लागि प्राधिकरणले ढिलाइ गर्दैन । आजको घटनाको हकमा पनि प्राधिकरणबाट ढिलाइ भएको छैन । हामीले १०–१५ मिनेटमा नै अनुमति दिएका छौँ । बिरामीलाई कहाँ लैजाने भन्ने परिवारको अस्पष्टता, जिल्ला प्रशासन या गृह मन्त्रालयको प्रक्रियाका कारणले ढिलाइ भएको होला । आपत्कालीन उडानका हकमा प्राधिकरण संवेदनशील छ । यस्तो उडानको अनुमतिका लागि ह्वाट्सएप वा भाइबरमार्फत जानकारी दिए पनि हुन्छ । कागजात पछि पेस गर्दा पनि हुन्छ । प्राधिकरणले आपत्कालीन अनुमतिमा ढिलाइ गर्दैन ।