सामान्यतया: वैशाख र मंसिरमा साकेला नाच्ने गरिन्छ । तर, प्रदेश १ का किराँत राईहरूले साउनमा पनि विराटनगरमा साकेला नाच प्रर्दशन गरेका छन् । उनीहरूले मध्य वर्षातकाे साउन महिनामा पर्वको अवसरमा रमाउँदै साकेला नाच प्रर्दशन गरेका होइनन् । उनीहरूले प्रदेशको नामाकरण किराँत राख्न माग गर्दै शुक्रबार दिउँसो विराटनगरस्थित प्रदेश सभा भवनअगाडि साकेला नाच प्रर्दशन गरेका हुन् ।
किराँत राई यायोक्खाको नेतृत्वमा किराँती महिला र पुरुषहरू ताली बजाएर नाराबाजीसहित गीत गाउँदै प्रदेशको नाम किराँत राख्न माग गर्दै शुक्रबार प्रदेश सभाअगाडि ‘सोई ढोले सोई किराँत प्रदेश खोई ?’ भन्दै किराँत संस्कृतिको साकेला नाच नाचेका हुन् ।
शुक्रबार प्रदेशको नामाकरणबारे साझा धारणा बनाउन सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए । प्रदेश सभा सचिवालयभित्र दलहरूको सर्वदलीय बैठक बसिरहेकाे थियो । बाहिर भने आफ्नो परम्परागत भेषभूषामा सजिएका किराँती महिला र पुरुषहरू ‘सोई ढोले सोई किराँत प्रदेश खोई ?’ भन्दै नाचिरहेको थिए । उनीहरूले प्रदेशको नाम किराँत राख्न निरन्तर शान्तिपूर्ण संघर्ष जारी राख्ने बताएका छन् । प्रदेश नामाकरणमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक भने विनानिष्कर्ष टुंगिएको छ ।
२ साउनमा किराँत राई यायोक्खाको नेतृत्वमा किराँत प्रदेश माग गर्दै बृहत् प्रर्दशन भएको थियो । त्योभन्दा अगाडि पनि किराँतीहरूले किराँत प्रदेश माग्दै निरन्तर प्रर्दशन गर्ने तथा सरकार र सभामुखलाई ज्ञापनपत्र र हस्ताक्षर बुझाउने कार्य गर्दै आएका छन् । देशका छवटा प्रदेशले आफ्नो नाम टुंगो लगाइसके पनि प्रदेश १ को अझै नामाकरण हुन सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल पनि सकिन लागेको र यही साउनमा दशौँ तथा अन्तिम अधिवेशन पनि अन्त हुने भएकोले प्रदेशको नामाकरण गर्न विभिन्न जातिहरूले चर्को दबाब दिइरहेका छन् । प्रदेश सभा र राजनीतिक दलहरूले पनि प्रदेशको नामकरण गराउन प्रस्ताव प्रक्रियामा लगेर छलफल गराउनेबारे सहमति जनाइसकेका छन् ।
तर, आआफ्नो अडानका कारण साझा नाममा भने सहमति हुन सकेको छैन । प्रदेश १ मा कोसी, किराँत, किराँत कोसी, सगरमाथा, किराँत सगरमाथा, लिम्बुवान किराँतलगायत नामबारे दलहरूका आआफ्ना अडान छन् । प्रदेश सभाबाट नामाकरण गराउन दुईतिहाई बहुमत चाहिन्छ । तर, प्रदेश १ मा कसैको पनि बहुमत छैन । त्यसैले नामाकरणको मुद्दा पेचिलो बन्दै गइरहेको छ ।