बस र माइक्रो ठाेक्किँदा एकको मृत्यु, १७ जना घाइते

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
बस र माइक्रो ठाेक्किँदा एकको मृत्यु, १७ जना घाइते

तस्बिर : हीरालाल गुरुङ/रासस

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  १७ जना घाइते  भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना.६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु.२ख ३५०२ नम्बरको माइक्रो विंगर एक–आपसमा ठाेक्किँदा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा परेर घाइते भएका विंगरमा सवार अन्दाजी ३५–३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा परेर दुवै सवारीसाधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये विंगरचालक रुपन्देहीको बुटवल नगरपालिका– २ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये पाँचजनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण दुवै सवारीसाधनको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । 

सुझावित समाचार