नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल रेमिटमार्फत आएको रेमिट्यान्स नेपाल बैंकका सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सबएजेन्टले भुक्तानी गर्ने उल्लेख गरिएको छ । यो सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
नेपाल बैंकले विगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । नेपालभर रहेका दुई सय १९ शाखा, ४७ एक्सटेन्सन काउन्टर, दुई सय ६० भन्दा बढी रेमिट्यान्स भुक्तानी गर्ने सबएजेन्ट, पाँच हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्राप्त गर्ने बैंकले जनाएको छ ।