मध्यअसारका बाढीपीडित घर फर्कन मुस्किल

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
मध्यअसारका बाढीपीडित घर फर्कन मुस्किल

गत १३ र १४ असारमा आएको बाढीका कारण अहिले हिलाम्मे अवस्थामा रहेको गौरादह– ५ स्थित डुबुवा बस्ती । बाढीका कारण बालुवा भरिएर पानी नै नआउने भएको ट्युबेल ।

आँगन बन्यो पोखरी, घरभरि हिलो, बाढीसँगै आएको बालुवाले ट्युबेल पुरेपछि खानेपानीको हाहाकार

गत १३ र १४ असारमा आएको बाढीले गौरादह–५ डुबुवाटोलीकी शम्भुला खातुनको परिवार विस्थापित भयो । बाढी नपसेको छिमेकीकोमा उनको परिवार आश्रय लिन पुग्यो । कम्मरभन्दा माथि पानी जमेका कारण घरभरि लेदो थियो । १५ दिनसम्म घर फर्किन नसकेको उनको परिवार १ साउनमा भने घरमा भएको लेदो सफा गरेर आफ्नै घर फर्कियो । तर, अहिले पनि आँगनभरि पानी जमेको छ । सफा गरे पनि घरभित्र लेदो छ । 

‘अहिले पनि आँगन हिलाम्मे छ । घुँडा–घुँडा लेदो थियो । घरभित्र हिलो राम्रो सुकेको छैन । अर्काको घरमा कति बस्नु भनेर यहीँ बस्न आयौँ,’ उनले भनिन्, ‘तर, सानो पानी पर्दा पनि आँगनमा खोला बग्छ । पहाड कालो भएको देखियो भने पनि मन अतालिन्छ ।’ रतुवा नदीले बाँध भत्काएर धार परिवर्तन गरेसँगै डुबुवाटोली डुबेको थियो । त्यहाँका २५ परिवार विस्थापित भएका थिए । रतुवा नदीले उनीहरूको बस्ती वरिपरिबाट घेरेको थियो । विस्थापितमध्ये अधिकांश भर्खर मात्र फर्किएका छन् । तैपनि, उनीहरूको घर हिलाम्मे छ । सानो पानी आउँदा पनि घरमै बाढी पस्छ । अझै त्रास हटेको छैन, उनीहरूमा । ‘१५ दिनमा घर त फर्कियौँ, तर डर उस्तै छ । अझै ठूलो पानी आउँछ रे भनेको सुनेका छौँ,’ बाढीपीडित ताजुदिन मिया भन्छन्, ‘अहिले बाँसको तटबन्ध त बनाउँदै छ । तर, त्यो तटबन्ध दह्रो छैन । यसले मात्र बाढी छेक्छ भन्ने लागेको छैन ।’

खेत बगरमा परिणत
नदीले उनीहरूको घर मात्र डुबाएन, भएको खेत पनि बगरमा परिणत भएको छ । अब कसरी जीविका चलाउने भन्ने चिन्ता उस्तै छ, उनीहरूलाई । ‘अलिअलि खेत थियो । खेतमा खोलाको ठूलो बंगालो पस्योे । अहिले त बगर भएको छ । खेतमा बालुवा छ । अब त उब्जनी हुन्छ भन्ने कल्पना पनि छैन,’ मियाले भने, ‘धन्न ज्यानचाहिँ बच्यो । अब त मजदुरी गरेर भए पनि खान्छौँ ।’

बल्लबल्ल जम्मा गरेको अन्न बाढीले कामै नलाग्ने बनाएपछि दैनिक गुजारा पनि मुस्किल परेको छ । गाउँमा बाढी पसेको केही दिनमा सरकारी निकायबाट पनि हेर्न आए । राहतका रूपमा चामल दिए । तर, घर फर्कन १५ दिन लाग्दा पनि कोही नआएको उनीहरूको गुनासो छ । ‘सुरुमा त आश्वासन दिँदै धेरै आए, तर अहिले कोही आएका छैनन् । घरको टाटी भत्किएको छ । उठाउने पैसा छैन । केटाकेटीलाई हिलोमा राख्नुपरेको छ । हाम्रा लागि त सरकार पनि रहेनछ,’ बाढीपीडित सायना खातुनले भनिन्, ‘एकपटक आएको बाढीले यस्तो भयो । अब आउनेले के होला ? राति सानो पानी आयो भने बिहान आँगनमा खोला कुदेको हुन्छ । आकाश कालो हुँदा पनि रातभर निदाउन सकिँदैन ।’

सोही ठाउँका इश्राफिल महम्मद पक्षघातका कारण राम्ररी हिँडडुल गर्न सक्दैनन् । यसपटकको बाढीमा पनि जसोतसो ज्यान जोगाए । उनलाई अब बाढी आउँदा कसरी ज्यान बचाउने भन्ने चिन्ता छ । ‘म यस्तो छु । अन्त जाउँ भने कहीँ केही छैन । कमाउने पनि कोही छैनन् । घरमा कम्मरकम्मर बाढी पस्छ । म त बाढी आएको वेला भाग्न पनि सक्दिनँ,’ गहभरि आँसु पार्दै उनी भन्छन्, ‘अस्ति पनि धन्न बुढी र छोरीले बाहिर निकाले । उनीहरू नभएको वेला खोला पस्यो भने !’

खानेपानीको हाहाकार
लगातारको वर्षाले ल्याएको बाढीसँगै बालुवा आएको थियो । बालुवाले टोलमा भएको खानेपानीको एक मात्र स्रोत ट्युबेल पुरिदियो । त्यसयता खानेपानीको हाहाकार छ । अहिले अलि पर बाढीबाट जोगिएका ट्युबेलबाट पानी ल्याएर खान्छन्, डुबुवाटोलीका स्थानीय । पुरेको ट्युबेलबाट पालुवा पन्साएर अलिअलि पानी आउने बनाएका छन् । तर, त्यो पानी पनि धमिलो आउँछ । ‘खानेपानी छैन । परबाट ल्याएर खान्छौँ । यहाँको पानी त सबै धमिलो आउँछ । खानै मिल्दैन । अस्ति त यहाँ हेर्न आएका मान्छेले फिल्टर ल्याइदिन्छौँ भन्थे,’ बाढीपीडित चम्पादेवी शर्मा भन्छिन्, ‘अहिले त उनीहरू हराए । आउनै छाडे । हाम्रा समस्या जस्ताको तस्तै रहे ।’

See More On

सुझावित समाचार