झिनो अंकले घट्यो नेप्से

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

नेप्से परिसूचक बिहीबार पाँच दशमलव ८७ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंकले घटेर तीन सय ९१ दशमलव ६४ बिन्दुमा आइपुगेको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अन्तिम ड्राफ्ट तयार पारिसकेको छ । लगानीकर्ताको सम्पूर्ण ध्यान मौद्रिक नीतितर्फ केद्रित हुँदा लगानीकर्ता ‘पर्ख र हेर’को नीति अपनाउन थालेका छन् । एक ब्रोकरका अनुसार आगामी मौद्रिक नीतिले बजारको लामो करेक्सनलाई एउटा निश्चित आकार दिनेछ । उनले भने, ‘बजार निकै तल्लो तहमा छ, क्षतिपूर्ति अबको मौद्रिक नीतिले दिन सक्छ, त्यसैतर्फ लगानीकर्ताको ध्यान केन्द्रित छ ।’

कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये दुईवटा समूहका सूचक मात्र बढेका छन् । ‘अन्य’ समूहको १ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको सूचक सामान्यले बढेको छ । जीवन बिमा समूह, लगानीगत समूह र ट्रेड्रिङ समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने बाँकी आठ समूहको सूचक सामान्य घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको ३९ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ६४ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट कम्पनीको मात्रै १७ करोडको सर्वाधिक सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एसिया बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी र नेपाल एसबिआई बैंकको सेयर चार करोड रुपैयाँदेखि ११ करोड २२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

See More On

सुझावित समाचार