छानबिन समितिले लियो पूर्वअर्थमन्त्री शर्मासँग तीनघन्टे बयान

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । समितिले  बिहीबार बिहान ८ बजे शर्मालाई बोलाएर ११ बजेसम्म बयान लिएको थियो ।

समितिले आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधेका सबै प्रश्नको आफूले जवाफ दिएको बताएका हुन् । उनले आफूले समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए ।

समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ । समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए । 

तत्कालीन अर्थमन्त्री शर्मालाई ०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।
 
 

सुझावित समाचार