एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको मन जित्ने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय पार्टी स्कुल विभागले काठमाडौंमा आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको दुईदिने अभिमुखीकरण कार्यक्रममा नेपालले योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिए ।
उनले भने, ‘पदमा पुगेपछि बादशाह भएँ भन्ने नठानुन् । मेयरमा जित्नुभयो, अब त यो ठाउँमा मभन्दा अर्को छैन भन्ने नसोच्नुहोस् । सबैभन्दा ठूलो सेवा ठान्नुहोस् । वडाध्यक्ष जित्नुभयो, छोइसक्नु छैन, वडासदस्य जित्नुभयो, छोइसक्नु छैन । त्यस्तो नगर्नुस् । इमानदार बन्नुस् । घर–घर, बस्ती–बस्ती, टोल–टोल जानुस् । योजनाबद्ध रूपमा काम गर्नुस् । परियोजनाहरू लागू भएका छन् कि छैनन्, अनुगमन गर्नुस् ।’
संस्कार र व्यवहारमा परिवर्तन गर्ने गरी लाग्न उनले निर्देशन दिए । ‘मवादी प्रवृत्ति, व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुनुपर्छ,’ नेपालले भने, ‘पदका लागि मरिहत्ते गर्ने, पद पाएपछि पैसाका लागि मरिहत्ते गर्ने । देश भाँडमा जाओस्, कुनै मतलव छैन, व्यक्तिको स्वार्थ पूरा होस् भन्ने ढंगले हाम्रा जनप्रतिनिधिले काम गर्नुहुन्न ।’
ओलीले पार्टी फुटाए
नेकपा र एमाले फुटाउने काम केपी ओलीले गरेको नेपालको दाबी छ । पार्टी कब्जा गर्दै कारबाही गरेर निकाल्न खोजेपछि बाध्य भएर एकीकृत समाजवादी गठन गरेको नेपालले दाबी गरे । ‘एमाले दक्षिणपन्थी बाटोमा गयो, विदेशीसामु आत्मसमर्पण गर्यो । यसले तत्कालीन नेकपामा विवाद उत्पन्न भयो । आफ्नो आदेश पालना गर्ने मान्छेलाई मात्र मन्त्रीमा भर्ती गर्ने काम भयो । त्यसले पार्टी र देशलाई नै नोक्सान गर्यो । आफूसँग असहमत हुनेलाई पाखा लगाउने मात्र होइन, समाप्त नै पार्न खोजेपछि हामीले बाध्य भएर विद्रोह गर्यौँ । बा भन्नेहरूको बिगबिगी भयो, कमरेड भन्नेहरू पाखा लाग्ने अवस्था बन्यो ।’
कम्युनिस्टभित्रका विकृतिलाई पहिचान गरेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘जसरी डाक्टरले बिरामीको शरीरको जाँच गर्छ, रोगको परिचान गर्छ, अप्रेसन गर्नुपर्ने हो कि औषधिले मात्र ठीक हुने हो, त्यो परिचान गर्छ । हामीले पनि कम्युनिस्ट आन्दोलन, नेपाली राजनीति या नेपाली समाजको समस्यालाई त्यसै गरी पहिचान गर्नुपर्छ ।’
आफ्नै शक्तिमा भर परौँ
नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनको गीत बढी गाउँदा अपेक्षित परिणाम आउन नसकेको बताए । उनले भने, ‘हामीले गठबन्धनको गीत धेरै गायौँ । अरूको सहारामा बाँच्ने बानी बढ्दो रहेछ । अरूको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन । हामी आफ्नो शक्तिमा भरोसा गरेर अगाडि बढ्नुपर्छ । आफू कमजोर भइयो भने अरूको कृपामा बाँच्नुपर्छ । हामी आफ्नो शक्तिको जगमा उभिनुपर्छ ।’ बिहीबारसम्म चल्ने प्रशिक्षणमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, मेयर–उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू सहभागी छन् ।