सोलुदूधकुण्डका किसानलाई तालिमदेखि टनेलसम्म सहयोग

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

तामाखानीकी अनिशा मगरले एउटा हातमा प्लास्टिक टनेल र अर्को हातमा तरकारीको बिउ लिँदै भनिन्, ‘अझै राम्रो तरकारी उत्पादन गर्छु ।’ उनले यसअघि टनेलबाहिर तरकारी उत्पादन गर्थिन् । उनले तरकारी बाली विकास केन्द्र र द स्मल वल्र्ड (टिएसडब्लू)को सहकार्य तथा सोलुदूधकुण्ड नगरपालिका–३ को समन्वयमा उनले तरकारी खेतीसम्बन्धी तालिम लिइन् । तामाखानीमा सम्पन्न तीनदिने तरकारी खेती विषयक तालिमसमेत लिएकी अनिशा तरकारी उत्पादनमा पाएको सहयोग खेर जान नदिने बताउँछिन् ।

उनी मात्र होइन, तामाखानीकै कमली मगर पनि दंग देखिन्थिन् । उनलाई तालिम, टनेल र बिउले अझ तरकारी उत्पादनमा हौसला थपेको छ । उनी भन्छिन्, ‘बारीमा एउटा टनेल छ । जहाँ गोलभेँडा र अकबरे खुर्सानी उत्पादन गरेकी छु । अर्को टनेल पनि पाएकाले तरकारी खेती विस्तार गर्छु ।’ उनले व्यावसायिक कृषक बन्ने सोच राखेको बताइन् ।

‘आशाको बिउ’नामक राहत परियोजना (कोरोना कहरका समयमा सञ्चालित) मार्फत द स्मल वल्र्ड (टिएसडब्लू)का अध्यक्ष कर्मा शेर्पाले पहिलो चरणको बिउ र टनेल नपाएका २५ महिलाहरूलाई टनेल र तरकारीको बिउ वितरण गरेका हुन् । यसअघि टनेल पाएका ३० जनालाई तरकारीको बिउ वितरण गरिएको छ । नेपाली कांग्रेस सोलुखुम्बुका प्रदेश सभा ‘ख’ सभापतिसमेत रहेका शेर्पाले पहिलो चरणको सहयोग पाएकाले तरकारी उत्पादनमा राम्रो काम गरेपछि सोही वडामा छुटेका परिवारलाई तालिम, टनेल र बिउ व्यवस्थापन गरेको बताए । 

उनले भने, ‘हामी तरकारीबाट आर्थिक अवस्था कमजोर रहेका परिवारलाई सबल बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । कोरोनापछिको यो ‘आशाको बिउ’नामक राहत परियोजनाले महिला दिदीबहिनीलाई तरकारी उत्पादन र आयआर्जनमा प्रोत्साहन मिलेको छ ।’ तालिम, टनेल र बिउसँगै टनेल निर्माणका लागि स्थानीय सरकारसँगको समन्वयमा प्राविधिक सेवासमेत दिने तयारीमा जुटेको शेर्पाले बताए ।

कोरोनाको कहरका समयमा ‘आशाको बिउ’का रूपमा सोलुदूधकुण्ड नगरपालिकाभित्रका महिलालाई प्राथमिकतामा राखेर तरकारीको बिउ वितरण गरिएको थियो । तामाखानीकै माया शेर्पाले त्यसवेला पाएको टनेलमा अहिले गोलभेँडा र बोडी फलाएकी छिन् । उनलाई अर्को टनेल विस्तार गर्ने इच्छा जागेको छ । सोहीअनुसार सहयोगी संस्था द स्माल वल्र्डलाई गुहार्न उनी तालिमस्थलमा पुगेकी थिइन् । उनले भनिन्, ‘कोरोना कहरका वेलामा टिएसडब्लूले टनेल र बिउ दियो । सोही टनेलभित्र बिउ रोपेर अहिले तरकारी फलिरहेको छ ।’ ज्वालामाई मन्दिरछेउमा होटेलसमेत सञ्चालन गर्दै आएकी माया यसअघि तरकारी खेतीतर्फ ध्यानै नगएको बताउँछिन् । अहिले उनी होटेलमा आवश्यक केही तरकारी आफ्नै टनेलबाट पुर्याउँछिन् । 

कोरोनापछि तरकारी खेतीमा आशा जगाएका माया र गोकर्णजस्ता थुप्रै कृषकहरू भेटिन्छन् । उनीहरू उत्पादनसँगै बजारसँग पनि जोडिने कोसिस गरिरहेका छन् । साना कृषकको उत्पादनलाई बजारीकरणको चिन्ता बोक्दै गठित मिलिजुली महिला समूहका अध्यक्ष माया शेर्पा भन्छिन्, ‘उत्पादनमा हुने वृद्धिसँगै कसरी सजिलै बजारसम्म जोडिन सकिन्छ भन्ने र कृषकका अवसरहरू आफ्नो पोल्टामा पार्नका लागि विधिवत् रूपमा समूह दर्ता गराएर अघि बढेका छौँ ।’

टिएसडब्लूले सोलुदूधकुण्ड नगरपालिकाका सम्पूर्ण वडामा ‘आशाको बिउ’ परियोजना सञ्चालन गरिरहेको छ । यस प्रकारको परियोजना ग्रामीण परिवेशमा प्रभावकारी देखिएकाले अन्य स्थानीय तहमा पनि कार्यक्षेत्र विस्तार गर्ने तयारी भइरहेको टिएसडब्लूका उपाध्यक्ष सोनाम डोका शेर्पाले जानकारी दिइन् । टिएसडब्लूले सोलुदूधकुण्ड–११ स्थित पेकरनास महिला समूहका २० जना सदस्यलाई प्लास्टिक टनेल वितरण गरेको छ । यसअघि १५ सदस्यलाई टनेल र तरकारीको बिउ वितरण गरिएको थियो ।

सुझावित समाचार