कस्तो अचम्म ! कति भाग्यमानी आमा ! एक सय १२ वर्षीया इन्द्रकुमारी सुवेदीले आफ्ना छोराको चौरासी गर्ने अवसर पाइन् । २९ असारमा छोरा धनबहादुर सुवेदी ८४ वर्ष लागे, भव्य कार्यक्रमबीच उनले आमाको आशिष थापे । इन्द्रकुमारीलाई गाउँमा सबैले जम्दार्नी भनेर चिन्छन् ।
दम, प्रेसर, बाथलगायतका रोगका औषधि खाने गरेको भए पनि उनी अझै मज्जाले बोल्न सक्छिन् । बुढ्यौली लागिसकेकाले कान कम सुन्छिन् र अलि टाढाको देख्न सक्दिनन् । यसबाहेक अहिलेसम्म जीवनमा ठूलो रोगले गाँजेको छैन । कानमै गएर बोल्नेहरू गर्नेहरूसँग उनी मज्जाले भलाकुसारी गर्छिन् ।
आफ्ना सन्तानको संख्या गन्नै जम्दार्नी आमालाई सकस पर्छ । तीन छोरा, २० नातिनातिना, ५२ पलाँतीपलाँतिनी र ११ खलाँती तथा खलाँतिनालाई उनले देखेकी छन् । आमाका तीन भाइ छोरामध्ये जेठा ८४ वर्षीय धनबहादुरका पाँच छोरी र चार छोरा जन्मिए । माइलो छोरा चेतबहादुर क्षेत्री ७५ वर्षका भए, उनका तीन भाइ छोरा छन् । कान्छो छोरा खुमबहादुर सुवेदी ७० वर्षका भए ।
जसका सात छोरी र एक छोरा छन् । चाडपर्व र दसैँमा आमाको आशीर्वाद थाप्नेहरूको भिडले मेला–महोत्सवकै झल्को दिन्छ । आफ्ना सन्तानसँगै गाउँलेहरू पनि उनको घरमा आशिष थाप्न आउँछन् । अहिले छोरा धनबहादुरको चौरासीमा पनि विदेश र बिरामी भएकाबाहेक अन्य धेरैजसो उपस्थित भएको नाति वसन्त क्षेत्रीले बताए ।
आमा जीवित, तीन छोराको निधन
इन्द्रकुमारी सुवेदीका जेठा छोरा धनबहादुर सुवेदी चौरासीमा आमाको आशिष थाप्न पाउँदा खुसी छन् । तर, छोराहरू नभएकोमा दुःख नलाग्ने कुरै भएन । उनका चार भाइ छोरामध्ये जेठा कृष्ण र कान्छा विष्णुको भारत तथा माइला डिलबहादुर सुवेदीको लन्डनमा निधन भइसकेको छ । परदेश भएका साइँला छोरा गोपाल सुवेदी पनि चौरासीमा आउन सकेनन् । ‘चौरासी पुगेर आमाकै अगाडि पूजा गर्न पाएँ । तर, तीन भाइ छोरा गुमाएको पीडा पनि उत्तिकै रह्यो,’ उनले भने, ‘परदेश भएको छोरा पनि आउन पाएन ।’