प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरू आन्दोलित भएका छन्। वर्षौंदेखि काम गर्दै आएका मनमोहन पोलिटेक्निकका दक्ष प्राध्यापक र कर्मचारीहरूलाई स्वतः विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।
स्वतः सबै कर्मचारी र प्राध्यापकहरूलाई विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएर पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछि पोलिटेक्निकमा वषौँदेखि कार्यरत प्राध्यापक र कर्मचारीहरू संगठित भएर आन्दोलित हुन बाध्य भएको प्राध्यापक संघकी अध्यक्ष सबिता गौतमले बताइन्। उनले भनिन्,‘विश्वविद्यालयले आफूहरूको माग बेवास्ता गरेकोले ४ साउनदेखि कालोपट्टी बाँधेर कर्मचारी र प्राध्यापकहरूले संघर्ष सुरु गर्ने तयारी गरेका छौँ।’
कर्मचारी संघकी अध्यक्ष प्रकृति भट्टराईले पोलिटेक्निकबाट दुई वर्षअघि देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा रूपान्तरण भएको मनमोहनले वर्षौंदेखि काम गर्दै आएका दक्ष कर्मचारी र प्राध्यापकलाई बेवास्ता गर्दै आफ्नो स्वार्थअनुसार नयाँ कर्मचारी र प्राध्यापकहरू भर्ना गर्न थालेपछि संगठित हुन बाध्य भएको बताइन्। उनका अनुसार पोलिटेक्निकमा बर्षौँदेखि काम गर्दै आएका ३० जना कर्मचारी र ६० जना प्राध्यापक छन्। तीमध्ये केहीलाई मात्र विश्वविद्यालयले आफूमातहत बढुवा गरेर लगेको छ।