वडाध्यक्षलाई पोखरीमा चोबलेको घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद भट्टराई

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए । 

गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको नगरपालिकामा प्रहरीको ज्यादती गराएका उनको आरोप छ । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उनले माग गरे । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए । 

‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँभित्रको अरू विषयवस्तुमा म जान्नँ । तर, आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा ? म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्य्राएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र ?’ उनले भने, ‘गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अन्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने ? गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।’

सुझावित समाचार