बागमतीले बगाएर एक सातामा पाँचजनाको मृत्यु

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

बागमती नदीले बगाएर एक सातामा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली र दुईजना भातरीय नागरिक छन् । चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ । शुक्रबार धनुषाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्ना परिवारका सदस्यहरूसँग पिकनिक खान नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव शनिबार बिहान बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेसक्याम्प सन्तपुरका प्रमुख प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिए । 

दाहालका अनुसार बुबाआमासहित पिकनिक खान आएका यादवसहित अन्य दुईजना पौडी खेल्न साँझ साढे ५ बजेतिर बागमती नदीमा पसेका थिए । तीनमध्ये महाराजा जैसवार र अमर यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर बेपत्ता भएका थिए ।

दुई बालक मृत अवस्थामा फेला
बागमती नदीमा हराएका दुई बालक शुक्रबार मृत अवस्थामा भेटिएका छन् । बागमती नदीले बगाएर बेपत्ता बालकको शव नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले दिउँसो फेला पारेको हो । बागमती नदीको पिपराघाटमा निर्माणाधीन पुलनजिकै बिहीबार नुहाउन गएका दुर्गा भगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै बालक स्थानीय ज्ञानोदय बोर्डिङको कक्षा ६ मा अध्ययनरत थिए ।

बागमती पुलनजिकै उनीहरूको साइकल, पुस्तक र कपडा स्थानीयले देखेपछि नुहाउन गएका बालक बेपत्ता भएको अनुमान गरेका थिए । त्यसपछि अभिभावक र गाउँले मिलेर खोजी सुरु गरेका थिए । केही गोताखोर र सुरक्षा टोली परिचालन भए पनि बिहीबार अबेरसम्म बालक फेला परेनन् । हराएको भोलिपल्ट घटनास्थलबाट केही पर दुवै बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गौरले जनायो ।

दुई भारतीयको शव फेला
२५ असारमा रौतहटको चन्द्रपुर–१ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका वेला बागमती नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता दुई भारतीय युवक २६ असारमा मृत अवस्थामा भेटिएका थिए । सुरक्षाकर्मीले खोजीका क्रममा उनीहरूको शव आइतबार घटनास्थलबाट झन्डै १० किलोमिटर दक्षिणतर्फ नदी किनारमा फेला पारेको थियो ।

भारतको सीतामढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलुकुमार बिआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय नुनथर घुम्न आएका वेला पौडी खेल्ने क्रममा बागमतीले बगाएर बेपत्ता भएका थिए । बगाएकै अवस्थामा सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए । मयक र गोलुकुमार भने बेपत्ता भएका थिए । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सन्तपुरस्थित सशस्त्र प्रहरी बेसबाट खटिएको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बृन्दावन नगरपालिका–१ स्थित बलेरिखोर र चन्द्रपुर–९ को सिमाना टोकार भन्ने स्थानमा बागमती खोलाको बगरमा गोलु र मयकलाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरीका डिएसपी सन्तु जैसवारले बताए । 

नुनथर क्षेत्र घुम्न आउनेहरू हरेक वर्ष बागमतीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु हुने क्रम बढ्दो छ । पूर्व–पश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीय नागरिक आउने गर्छन् । नुनथरमा रहेको प्रख्यात झोलुंगे पुलमा पर्यटकहरू सेल्फी खिच्नुका साथै मोटरबोट चढेर रमाइलो गर्छन् । धेरैजसो नदीमा पौडी खेलेर आनन्द लिन यहाँ आउने गरेका छन् ।

See More On

सुझावित समाचार