धरापमा कोहलीको करिअर

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

भारतीय क्रिकेटमा एक समय कोहलीको यस्तो दबदबा थियो कि उनी प्रशिक्षक नै फेर्न र नियुक्त गर्ने हैसियत राख्थे । सन् २०१७ मा भारतीय टिमको प्रमुख प्रशिक्षकमा अनिल कुम्बलेलाई छाडेर रवि शास्त्रीलाई क्रिकेट बोर्डले छनोट गर्नुको मुख्य कारण उनी नै थिए । 

उनी आफ्नै सर्त र मुडअनुसार खेल्ने क्रिकेटरका रूपमा परिचिति थिए । उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार उच्च रन बनाएको पनि थियो । कोहलीको ब्याटिङ लगातार चलेकाले सचिन तेन्दुलकरको एकदिवसीयको ४९ शतक र टेस्टको ५१ शतकको कीर्तिमान केही समयमै तोडिने विश्लेषणसमेत गरिएको थियो ।

हुन पनि क्रिकेट प्रतियोगितामा अन्तर्राष्ट्रिय टेस्ट र एकदिवसीय क्रिकेटमा गरी कुल ७० शतक बनाउनु सामान्य उपलब्धि होइन । तर, पछिल्लो समय उनै कोहलीको चमक फिक्का हुन थालेको छ । उनले सन् २२ नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन् । ३३ वर्षीय कोहलीले यो अवधिमा १७ टेस्ट, २१ एकदिवसीय, २५ टी–२० र ३७ आइपिएल खेलसहित एक सयभन्दा बढी इनिङ खेलिसकेका छन् । यति धेरै खेलमा पनि उनले एकपटक पनि शतक बनाउन सकेनन् । आखिर कोहलीको प्रदर्शनमा एक्कासी धक्का कसरी लाग्यो ? 

क्रिकेट विगतलाई भजाएर खेलिँदैन, कुनै पनि खेलाडी टिममा टिक्नका लागि खेलमा उसको वर्तमानको महत्वपूर्ण भूमिका हुन्छ । र, कोहलीको हालको फर्म उनी आफैँले तोकेको मापदण्डसँग मेल खाँदैन ।
 

कोहली पूर्ण रूपमा फर्ममा नरहेका भने होइनन् । उनी अहिले पनि राम्रो सट खेल्छन्, राम्रो सुरुवात गर्छन् । तर, आफ्नो इनिङ्सलाई ठूलो इनिङ्समा परिणत गर्न भने असफल भइरहेका छन् । कोलकातामा भएको खेलमा बंगलादेशविरुद्ध अन्तिमपटक शतक हानेपछि उनले कैयौँपटक ५० वा सोभन्दा बढी रन बनाए । 

इङ्ल्यान्डको पछिल्लो टुरमा पनि उनले टेस्टदेखि एकदिवसीय खेलमा उल्लेखनीय रन बनाउन सकेनन् । अहिले कोहली भारतीय क्रिकेट टोलीमाथि भार बनिरहेको विश्लेषण हुन थालेको छ । योसँगै टोलीमा उनको उपस्थितिमा प्रश्न उठ्न थालेको छ । एजब्यास्टन टेस्टअघि, भारतले लेस्टरसायर काउन्टविरुद्ध अभ्यास खेल खेलेको थियो, जसमा कोहलीको पुरानो चमकको झल्को देखिएको थियो । उनले पहिलो इनिङ्समा ३३ रन बनाए र दोस्रो इनिङ्समा ६७ रन, तर एजब्यास्टन टेस्टमा भने कोहलीले ११ र २० रन मात्र बनाउन सके ।

कोहलीको प्रदर्शन खस्कनुमा उनको आत्मविश्वास घट्दै गएको वा उनले ब्याटिङमा ध्यानकेन्द्रित गर्न नसकेको हुन सक्ने खेल विश्लेषकको मूल्यांकन छ । माथि भनिएझैँ कोहलीले क्रिजमा संघर्ष गरेको नदेखिए पनि केही प्राविधिक त्रुटिबाट मुक्त हुन सकिरहेका छैनन् । 

कोहलीको करिअरमा पहिलोपटक शतकको यति लामो खडेरी आएको हो । र कोहलीको असफलताको असर भारतीय टिमको मिडिल अर्डरमा परिरहेको छ । आइसिसी टी–२० विश्वकप आयोजनाको अब एक सय दिनभन्दा कम समय बाँकी छ । अस्ट्रेलियामा हुने उक्त प्रतियोगितामा कोहलीलाई १५ सदस्यीय टोलीबाट हटाउने माग उठ्न थालेको छ । भारतीय टिममा कोहलीको ठाउँमा खेल्न सक्ने धेरै दाबेदार भएकाले पनि यस्तो दबाब परिरहेको छ । सूर्यकुमार यादव, श्रेयस अøयर र दीपक हुड्डाजस्ता क्रिकेटर कोहलीको स्थान लिन तयार भएकाले पनि उनीमाथि दबाब परेको हो । 

चेतेश्वर पुजारा र अजिंक्य रहाणेजस्ता शीर्ष खेलाडी खराब फर्मका कारण टिमबाट निकालिसकेको सन्दर्भमा राष्ट्रिय टोली चयनकर्तामाथि कोहलीलाई पनि हटाउन सहज हुनेछ । (यसबीच काउन्टीविरुद्धको खेलमा राम्रो रन बनाएर पुजारा टोलीमा फर्किएका छन् भने रहाणे अझै टिममा पुनरागमनको प्रतीक्षामा छन् ।) कोहलीले ३० महिनादेखि क्रिकेट मैदानमा ठूला इनिङ खेल्न नसके पनि उनले विगतमा राखेको कीर्तिमानले विश्व क्रिकेटको दिग्गजको सूचीमा उनलाई उभ्याउँछ । तर, क्रिकेट विगतलाई भजाएर खेलिँदैन, कुनै पनि खेलाडी टिममा टिक्नका लागि खेलमा उसको वर्तमानको महत्वपूर्ण भूमिका हुन्छ । र, कोहलीको हालको फर्म उनी आफैँले तोकेको मापदण्डसँग मेल खाँदैन ।

आइपिएलको १६ इनिङमा ३४१ रन 
अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र होइन, कोहलीले आइपिएलमा पनि ठूलो इनिङ खेल्न सकिरहेका छैनन् । यस सिजनको आइपिएलमा उनले १६ इनिङ्समा जम्मा ३४१ रन बनाए । यस अवधिमा उनको ब्याटिङ स्ट्राइक रेट ११६ भन्दा कम थियो, जुन उनीबाट अपेक्षा गरिनेभन्दा कम हो । कोहलीले लामो समयदेखि ठूला इनिङ्स खेल्न नसकेको भए पनि ब्याटिङ गर्दा रन बनाउन त्यति आतुर देखिँदैनन् । अहिले पनि उनी एक–दुई रनभन्दा छक्का चाक्कामै जोड दिन्छन् । यस्तो रणनीतिमा लामो समय विकेटमा टिक्न सकिएन भने बढी रन बनाउन सकिँदैन । कोहलीलाई पनि क्रिजमा लामो समय टिक्न समस्या भइरहेको छ । 

सुझावित समाचार