महामन्त्री थापाले भने– अब सरकारको प्रतिरक्षा गर्न सकिँदैन

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण
महामन्त्री थापाले भने– अब सरकारको प्रतिरक्षा गर्न सकिँदैन

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले विगतको सरकारले जस्तै यो सरकारले पनि गल्ती दोहोर्याएको भन्दै त्यसको प्रतिरक्षा गर्न नसकिने धारणा राखेका हुन् । 

सरकारको कामले आगामी निर्वाचनमा मत पाउन नसकिने उनको भनाइ छ । ‘सरकारको कामले मत पाउँछौँ ? हिजो सरकार कसरी चलाउनुपर्छ केपी ओलीलाई भन्यौँ तर आज कसरी चलेको छ देखिरहेका छौं,’ उनले भने, ‘अझै कति रक्षा गर्ने सरकारको ? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ । त्यसको प्रतिरक्षा गर्न सकिँदैन ।’

स्थानीय निर्वाचनमा कांग्रेस एक्लै लड्न सक्छ भन्ने मत पार्टीमा  रहेको तर  केही  नेताहरुले सभापति देउवालाई खुसी पार्नका लागि गठबन्धनको पक्षमा वकालत गरेको उनको  भनाइ थियो । ‘हामी एक्लै लड्न र बाँच्न सकिन्छ भन्ने साथीहरू हुनुहुन्थ्यो सभापति खुसी बनाउन जे भनियो यसले पार्टी हित हुँदैन,’ उनले भने ।  

महामन्त्री थापाले संवैधानिक परिषद् तथा भ्रातृ संगठनबारे गरिएको निर्णय समाचारबाट थाहा पाएको भन्दै पार्टी तथा सरकार सञ्चालन गर्नेबारे थाहा हुनुपर्ने धारणा राखे । उनले आफूहरू निर्वाचित महामन्त्री भएको भन्दै सभापतिले जेजे गरे पनि ताली पड्काउन नसक्ने बताए । ‘पार्टी सभापति र अन्यले गरेका कामहरू हामीले बोक्ने मात्र हो ? ताली पड्काउने मात्र हो हाम्रो काम ?’ महामन्त्रीको काम यही हो ? बोक्ने र ताली पड्काउने मात्र हामी होइनौँ,’ थापाले भने । 

महामन्त्री थापाले अर्थ मन्त्रालय कांग्रेसले नलिनु गलत भएको पनि बताए । 

सुझावित समाचार