बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डेको ढिलासुस्तीको कारण प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको रकम रोकिएको छ । प्रदेश सरकारले प्रदेश सभा सदस्यमार्फत विकास योजनामा खर्च गर्न संचालन गरेको कार्यक्रमको तीन करोड रुपैयाँको योजना संचालन हुन नसकेको हो । नुवाकोट निर्वाचन क्षेत्र नं. २ ‘ख’ का प्रदेश सभा सदस्य पाण्डेले समयमा योजनाहरुको निर्णय गरी नपठाएको कारण तीन करोडको योजनाहरु अलपत्र परेको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ मा खर्च गर्नु पर्ने बजेटको योजना निर्णय गरी समयमा नै नपठाएको कारण रकम आउन नसकेको हो । जिल्लामा अन्य तीन प्रदेश सभा सदस्यहरुले योजना छनौट गरी गत वर्षको माघमै निर्णय गरे पनि पाण्डेले भने योजना छनौट नै नगरी बसेका थिए । जिल्ला समन्वय समितिले पटक पटक ताकेता गर्दा पनि योजना छनौट गरी बुझाउन आलटाल गर्दै आएका पाण्डेले असार ६ गते जिल्ला समन्वय समितिमा योजनाको सूची बुझाएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दीपक दुलालले बताए । जिल्ला समन्वय समितिले असार ६ गते प्रदेश लेखा नियन्त्रकको कार्यालय र सम्बन्धित मन्त्रालयहरुमा पठाएको थियो । क्षेत्र नं. २ को प्रदेश ‘ख’मा पर्ने तर, विदुर र बेलकोटगढी नगरपालिकामा कुनै कार्यादेश नआएको लेखा अधिकृतहरुले जनाएका छन् ।
सांसद पाण्डेले विभिन्न २० वटा योजनाहरुमा रकम विनियोजन गरेर पठाएका थिए । समयमा काम नगरेको कारण रकम नआउँदा योजनाहरु अलपत्र परेको भन्दै एमालेका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् । जिल्ला समन्वयमा योजना निर्णय गरी बुझाउनको लागि निकै दबाब दिनु परेको नेकपा एमालेका एक जिल्ला नेताले बताए । चालु आर्थिक वर्षमा सांसद पाण्डेको योजनाको रकममात्र रोकिएको हो ।
योजना बुझाउन ढिलाई भएकै कारण चालु आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने योजनाको रकम आउन नसकेको हो । प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत तीन क्षेत्रमा रकम विनियोजन गर्न पाइने व्यवस्था रहेको छ । पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेर बजेट विनियोजन गर्नुपर्दछ । सांंसद पाण्डेले कतिपय योजनाहरु पहिले नै काम भइसकेका योजनाहरुमा समेत विनियोजन गरेको एमालेकै कार्यकर्ताहरुले बताएका छन् । एमालेभित्र पनि आफ्नो गुटका कार्यकर्ताका योजनालाई मात्र पारेको भनेर आलोचना भएको थियो । सांसद पाण्डेले यो आर्थिक वर्षमा रोकिए पनि अर्को आर्थिक वर्षमा उक्त योजनाहरुको रकम आउने दाबी गरेका छन् । वागमती प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेको पाण्डे नेकपा एमाले वागमती प्रदेश कमिटिका अध्यक्ष समेत हुन् ।