कर्णाली प्रदेश सरकारका पूर्वकानुनमन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य नरेश भण्डारीले विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनले शुक्रबार प्रदेश सभा अगाडि दबाबमूलक कार्यक्रमसमेत गरे । ‘सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक’ पारित गर्न माग गर्दै उनले विधेयक सरोकार समाजको अगुवाइमा संसद भवनअगाडि विरोध प्रदर्शन गरेका हुन् ।
पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिँजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको उनको आरोप छ ।
पर्वतीय विश्वविद्यालय कर्णाली समृद्धिको एउटा खम्बा भएको उनको भनाइ छ । ‘कर्णाली प्रदेशको मुहार फेर्न सक्ने उल्लेखित तीनवटा महत्वपूर्ण विधेयकहरू पास गर्न सरकार किन पछि पर्यो ? के यी संविधानसँग बाझिन्छन् ? यिनीहरूले सार्वभौमसत्ता कमजोर बनाउँछन् ? पारित हुँदा राष्ट्रिय अखण्डतामा आँच आउँछ,’ उनको प्रश्न छ ।
भण्डारीले यसअघि पनि उल्लेखित विधेयक पास नगरेको खण्डमा सरकारको विपक्षमा उभिने बताइसकेका छन् । ‘विधेयक पारित गर्ने संवैधानिक, कानुनी र प्रक्रियागत मार्ग अवरुद्ध पारिन्छ भने निर्मम संघर्षबाहेक अरू विकल्प रहनेछैन,’ उनले भने ।
सांसद भण्डारीले पहिलोपटक गैरसरकारी विधेयक दर्ता गराएका थिए । गत असोजमा उनले ‘सिँजा सभ्यता विकास तथा संरक्षण विधेयक ०७८’ दर्ता गराएका थिए ।